बढी भाडा लिने ५ सय वटा गाडीलाई कारबाही

 असोज २९, २०७५ सोमबार ५:४६:५६ | रासस

काठमाडौं - बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । 

दशैँको ‘अग्रिम टिक बुकिङ’देखि नै यातायात व्यवस्था विभागले चार वटा अनुगमन समूह बनाएर उपत्यकाका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेको थियो । त्यसक्रममा हालसम्म ५०० सवारीलाई कारबाहीको दायरामा ल्याइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

उपत्यका बाहिर जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि यी सवारीलाई कारबाही गरिएको उहाँले बताउनुभयो । बढी भाडा लिने सवारीलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरिएको छ । विशेषगरी साना माइक्रो, हायस र टाटा सुमोले तोकेभन्दा बढी भाडा लिएको विभागले जनाएको छ । 

बढी भाडा लिने सवारीको जानकारी विभागको हटलाइन नं। ९८५१२७३२२२ र नेपाल प्रहरीको निःशुल्क नं। १०१ एवं १०३ मा फोन गरेर उजुरी गर्न सकिने प्रवक्ता उपाध्यायले बताउनुभयो । दशैँका जुनसुकै दिन सवारी चलाउनेले पनि विभागले तोकेभन्दा बढी भाडा लिन नपाउने उहाँले बताउनुभयो । लिएमा माथि उल्लेखित नं वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न विभागले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई कारबाहीको दायरामा ल्याउन देशभरका प्रहरी कार्यालयलाई अनुरोध गरिएको जनाइएको छ । 

उपत्यका बाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा पनि यात्रु ठग्ने क्रम बढेको यात्रुको गुनासो छ । दशैँका अवसरमा २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असोज २४ गते घटस्थापनादेखि शनिबारसम्म ६० हजार १६८ सवारीमा पाँच लाख ७१ हजार ९८७ यात्रु दशैँ मान्न उपत्यका बाहिर गएको महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक दामोदर सिलवालले बताउनुभयो । 

यस अवधिमा ५० हजार ७२९ सवारीमा तीन लाख १९ हजार ६०९ यात्रु उपत्यका भित्रिएका छन् । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया