'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
चितवन - नेपालीको महानपर्व बडादसैंमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ ।
पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ ।
भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा गङ्गा सापकोटा पोलेको मासुले आमाशयमा क्यान्सरको जोखिम बढी हुने बताउनुहुन्छ । अन्य खानाको तुलनामा यस्ता खानेकुराबाट दुई गुणा बढी क्यान्सरको जोखिम हुने उहाँको भनाइ छ ।
मुख्यरुपमा पोलेका, तारेका, रसायनको प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा कार्सिनोजेनिक भन्ने तत्व उत्पादन गरी दीर्घकालीनरुपमा मानिसमा क्यान्सर हुने सम्भाबना हुन्छ ।
रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाउदा कार्सिनोजेनिक तत्व उत्पादन हुने र यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउनसक्ने हुँदा यस्ता मासु नखान उहाँले सुझाव दिनुभयो ।
त्यसो त बढी मासु प्रयोग हुने बेला मानिसले सुर्ती, चुरोट, रक्सी, मासु एकैसाथ खाने गर्दछन् ।
अलग-अलग खानुभन्दा यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना रहने गर्दछ । धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि यो निकै खतरनाक हुने विज्ञहरु बताउँछन् ।
सोही अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा विनय ठाकुर मासु, मदिरा, सुर्तीजन्य पदार्थको प्रयोग क्यान्सर रोगका लागि कारक हुने बताउनुहुन्छ । चाडपर्वका समयमा यस्तापदार्थ सेवन गर्दा हरियो सागपात, फलफूल, पानी प्रशस्त खान उहाँको सुझाव छ ।
विज्ञहरुले चाडपर्वका बेला सेतो मासु प्रयोग गर्न सुझाव दिएका छन् । चराजन्य मासु, जस्तै हाँस, कुखुरा, बट्टाई, अस्ट्रीजका साथै माछा खान उनीहरुले सुझाएका छन् ।
अस्पतालका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला शिवाकोटी खानपिनकै कारण ७० प्रतिशतसम्म क्यान्सर हुने बताउनुहुन्छ ।
राम्रो खानपिन भएका ठाउँमा खानाका कारण १० प्रतिशत क्यान्सर हुन्छ भने अनियन्त्रित खानपिन भएको ठाउँमा यो प्रतिशत ७० पुग्ने उहाँको भनाइ छ । पोलेका, तारेका मासु, सुर्तीजन्य पदार्थ, मदिरा, गालेको अचार, बासी खानेकुरा क्यान्सर रोगको कारक हुने भन्दै उहाँ यस्ता खानेकुरा नखान सुझाव दिनुुहन्छ ।
पशुजन्य स्रोतबाट प्राप्त बोसोले मानिसलाई मोटोपन बढाएर स्तन र पेटको क्यान्सर बनाउन सक्ने प्रमुख शिवाकोटी बताउनुुहुन्छ । खानामा बढी नुन नहाल्न, रसायनिक मल र विषादीको प्रयोग गरेर उत्पादन गरिएका तरकारी, अन्नपात र फलफूल नखान पनि उहाँको सुझाव छ ।
पछिल्लो समय युवा पिँढीमा कोलोस्ट्रोल, क्यान्सर अर्थात् ठूलो आन्द्राको क्यान्सर बढी हुने सम्भाबना देखिएको छ । यसको प्रमुख कारण रक्सी, मासु र चुरोट नै हुन् । नेपालमा सबैभन्दा बढी पाठेघरको मुख, स्तन र फोक्सोको क्यान्सर हुने गरेको छ । त्यसपछिको बढी क्यान्सर हुनेमा ठूलो आन्द्रा र आमाशय पर्ने गर्दछ ।
चुरोटले अन्ननलीदेखि मलद्वारसम्मका भागमा क्यान्सरको असर पर्नसक्छ । दशैँका बेला मासु प्रयोग गर्दा उमालेर र सामान्य तरिकाले पकाएरमात्रै खानुपर्ने विज्ञहरुको सुझाव छ ।
मासु ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुँदा हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुनसक्ने खतरा बढी हुने चिकित्सक बताउँछन् । मासुमा गुलियो पदार्थ र प्रोटिन बढी मात्रामा हुने हुँदा सिधैँ आगोमा पोल्दा उच्चतापक्रम उत्पन्न भई त्यसले एक्रिल्यामाइड्स उत्पन्न गर्छ जुन क्यान्सर रोग गराउन सहयोगी हुन्छ ।
भरतपुर अस्पतालका डा भोजराज अधिकारी रातो मासु विस्थापित नै गर्नुपर्ने बताउनुहुन्छ । हामीले मासु खानैपर्दा ताजा नै खानुपर्ने उहाँको सुझाव छ । मासु राख्दा कि त भुटेर राखिन्छ, कि त फ्रिजमा राख्ने गरिन्छ ।
यी दुबै तरिका हानिकारक हुने उहाँको भनाइ छ । फ्रिजमा राख्दा कडा सङ्क्रमण फैलिनसक्ने उच्च खतरा हुने जानकारी दिँदै उहाँ भुटेर राख्दा किटाणुविहीन भए पनि अपच र पेटमा अन्य समस्या उत्पन्न हुनसक्ने खतरा उच्च हुने बताउनुुहुन्छ ।
डा। अधिकारी भन्नुुहुन्छ, ‘मासु धेरै थुपार्न हुँदैन, बोसो र नूनको मात्रा बढाउनु हुँदैन, मासु राख्नु पर्दा फ्रिजको तापक्रम ख्याल गर्नुपर्छ ।’ अन्य हल्का खानेकुरा पच्नका लागि १२ देखि १६ घण्टा लाग्दछ भने मासु २४ घण्टासम्म लाग्ने उहाँको भनाइ छ ।
बासी मासु खाँदा ग्याष्ट्रिक हुने र झाडाबान्ता हुने हुँदा यसमा विशेष ध्यान दिन र पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोरलजस्ता समस्या भएका बिरामीले धेरै मासु खान नहुने भएकाले स्वास्थ्यमा विशेष ख्याल गर्न उहाँको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।