बिरामी हृदयघातकाे, अस्पतालले दियो ग्यास्ट्रिकको औषधि
 

 कात्तिक ५, २०७५ सोमबार २०:१९:११ | रासस

भक्तपुर – दसैँको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर अस्पताल आइपुग्नुभयो । 

बिदाको दिनमा ओपीडी सेवा बन्द हुने भएपछि आकस्मिक कक्षमा रहेका चिकित्सकलाई स्वास्थ्य परीक्षण गराउनुभयो । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले देब्रे छाती दुखेको ग्यास्ट्रिकका कारणले भन्दै ग्यास्ट्रिकको औषधि दिएर पठाइदिनुभयो । 

भोलिपल्ट फेरि छाती दुखेर मध्यपुर अस्पताल पुग्दा मुटुको सबै उपचार सेवा छ भनेर प्रचार गर्दै आएको यो अस्पतालले पनि ईसीजी गरेर बिरामी बचाउन आवश्यक थप उपचार नगरी सिधै गङ्गालाल अस्पताल रिफर गरेपछि गङ्गालाल पुर्‍याउँदा उहाँको निधन भयो । हृदयघातकै कारण निधन भएको गङ्गालाल अस्पतालले पुष्टि ग¥यो । 

उपचारका लागि सुरुमा आएको भक्तपुर अस्पतालका चिकित्सकको लापर्वाहीले ज्यानै गएको स्थानीय बासिन्दा बताउँछन् । पीडित परिवारले भने भक्तपुर अस्पतालले ईसीजी गरेर गङ्गालाल अस्पताल लैजान सुझाब मात्रै दिएको भए पनि ज्यान बचाउन सकिनेमा चिकित्सकले बिरामीलाई गम्भीर रुपमा नलिँदा ज्यान गएको गुनासो गरेका छन् । 

हृदयघातको लक्षण देखिँदा देखिँदै पनि अस्पतालमा भएको ईसीजी सेवा उपलब्ध नगराई ग्यास्ट्रिक भनेर औषधि दिएर पठाउनु चिकित्सकको चरम लापर्वाही भएको स्थानीयवासीको भनाइ छ । 

यसबारेमा अस्पतालका सुपरिटेण्डेन्ट डा सुधार देवकोटासँग सम्पर्क गर्न खोज्दा उहाँ बिदामा भएको अस्पतालका प्रशासन प्रमुख विश्व न्यौपानेले जानकारी दिनुभयो । घटना गम्भीर र दुःखद भएको बताउँदै न्यौपनेले भन्नुभयो, “मेडिकल सुपरिटेण्डेन्ट बिदामा हुनुहन्छ, उहाँ आएपछि घटनाको दिनको चिकित्सकले बिरामी हेरेको हो, अस्पतालमा भएको ईसीजी सेवा किन सञ्चालन नगरेको हो, छानबिन गरी विभागीय कारबाही अगाडि बढाउँछौँ ।” 

सरकारको वार्षिक करोडौँको बजेट आउने भक्तपुर अस्पताल र सरकारी तलब खाएर बस्ने यहाँका केही चिकित्सकको यस्तो लापर्वाहीको घटना यो पहिलो भने होइन । सरकारी अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालले विगतदेखि नै प्रसूतिदेखि विभिन्न रोगको उपचारमा लापर्वाही गर्दै आएपछि पछिल्लो समयमा बिरामीको चापसमेत घटेको छ । 

आईसीयू बिना नै विभिन्न रोगको शल्यक्रिया गरेर अर्को लापर्वाही गर्दै आएको स्थानीयवासी बताउँछ । आँखाअगाडि नै भक्तपुर अस्पताल रहे पनि यहाँका बासिन्दाले भने उपचार गराउन बिरामीलाई काठमाडौँका अस्पताल लैजाने गरेको दूधपाटीका स्थानीयवासी रामप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।

भक्तपुरका बासिन्दालाई भक्तपुर अस्पतालको उपचार सेवामा विश्वास नै हट्दै गए पनि बिरामी काठमाडौँ लैजान गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भक्तपुर अस्पताल कहिल्यै नसुध्रिने भो, यहाँको लापर्वाही हेर्ने हो भने अनगिन्ती छन् ।” ज्यान बचाउने अपेक्षा लिएर अस्पताल आउने बिरामीलाई बचाउन भक्तपुर अस्पताल गम्भीर नहुने गरेको स्थानीयवासीको गुनासो छ ।
 

अन्तिम अपडेट: भदौ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया