नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघ्यो

 असार १८, २०८० सोमबार १६:४७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट मूल्य घटेर आएसँगै निगमको १५ दिनको नाफा एक अर्ब ६० करोड रुपैयाँ पुगेको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो । यो हिसाबबाट सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँभन्दा बढी भएको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढ्दा उपभोक्ताको भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुको भाउसमेत बढ्ने गर्छ । तर निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भाउ घटिरहँदा पनि पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन ।

अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजलमा १३ रुपैयाँ, मट्टीतेलमा २७ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ३७ र बाह्य हवाई इन्धनमा प्रतिलिटर ५७ रुपैयाँ नाफा लिइरहेको छ । खाना पकाउने ग्यासमासमेत निगम प्रतिसिलिन्डर सात सात रुपैयाँ नाफामा छ ।

निगमले आईओसीको झन्डै २४ अर्ब रुपैयाँ बक्यौता पनि तिरिसकेको छ । गएको सेप्टेम्बर महिनादेखि निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको कारोबारमा नाफा कमाइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका बेला त्यसै अनुपातमा नेपालमा शुल्क नबढाइएकोले घाटा भएको र त्यसलाई पूर्ति गर्न अहिले मूल्य कम घटेको निगमका प्रवक्ता मनोज ठाकुरको दाबी छ । यस पटक छिटै सञ्चालक समिति बैठक बसेर उपभोक्ता मूल्य घटाउने गरी गृहकार्य गरिरहेको प्रवक्ता ठाकुरले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया