आज धेरै ठाउँमा पानी नपर्ने, भोलिदेखि फेरि झरीको सम्भावना

 असार २३, २०८० शनिबार ७:३२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज देशका धेरै ठाउँमा पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । कोशी र सुदूरपश्चिमका एक/दुई ठाउँमा मात्रै अहिले हल्का वर्षा भैरहेको छ । आज एक/दुई ठाउँमा मात्रै मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर भोलि पर्सि फेरि पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

यसवर्ष मनसुन कम सक्रिय हुँदा अहिलेसम्म लगातार झरी नपरेको पनि महाशाखाले जनाएको छ । तर मनसुनी प्रणाली भित्रिने बेला असार पहिलो हप्ता पूर्वमा परेको पानीले मानवीय तथा भौतिक क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसवर्ष अहिलेसम्म विपदबाट ३४ जनाको ज्यान गएको छ । २५ जना बेपत्ता भएका छन्  । ताप्लेजुङका ११ वटा र पाँचथरका ११ गरी २२ वटा झोलुङ्गे पुल बगाएको छ । यी पुल बगाउँदा १२ करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बाढी पहिरोबाट निर्माणमा रहेका १७ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्यस्तै सञ्चालनमा रहेका १३ आयोजनामा क्षति भएको छ । ती आयोजनाको कूल क्षति आठ अर्ब ५० करोड बराबर छ । यस्तै, बाढी पहिरोका कारण ३१ वटा साना जलविद्युत् आयोजनामा ४४ करोड ९० लाख बराबरको क्षति भएको प्राधिकरणका प्रमुख अनिल  पोखरेलले जानकारी दिनुभयो ।

नेपालमा गएको जेठ ३१ गते मनसुन भित्रिएको हो । सङ्घीय सरकारले मनसुनजन्य क्षतिमा अहिलेसम्म २० लाख रुपैयाँ बराबरको नगद राहत वितरण गरेको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया