विमान हेर्न गुल्मेली बाजागाजासहित रेसुंगामा

 जेठ २५, २०७५ शुक्रबार २०:४०:१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको रेसुंगा नगरपालिका–१०, अन्तरगत सिमिचौरमा निर्माणाधिन   रेसुंगा विमानस्थलमा शुक्रबार परीक्षण उडान गरिएको छ ।

रेसुंगा विमानस्थल निर्माण समितिको व्यवस्थापनमा नागरिक उड्यन प्राधिकरणले तारा एयरको 9N–AKL को टुनअटर विमान रेसुंगामा सफल अवतरण गरिएको हुन् । गुल्मीमा पहिलोपटक विमान आएपछि गुल्मेली अत्यन्तै खुशी भएका छन् ।

विमान अवतरण गरेपछि स्थानीयहरुले बाजागाजा र अबिरजात्रा गरेर एकआपसमा खुशी साटासाट गरेका थिए । विमान आउने सूचना पाएपछि हजारौं मानिसहरु शुक्रबार बिहानैदेखि खानानखाई विमानस्थल पुगेर  दिनभर विमानको प्रतिक्षा गरेका थिए ।

शुक्रबार बिहान पोखरादेखि उडेको विमान १०ः३० बजे गुल्मीको रेसुंगा विमानस्थलमा अवतरण गर्ने भनिएको  थियो । तर मौसममा आएको खराबीका कारण पोखराबाट ढिलो उडान गरी दिउँसो चार बजे विमान रेसुंगामा अवतरण भएको थियो । विमानका क्याप्टेन सन्तोष शाहको नेतृत्वमा तीन जना क्याप्टेनसहित दश जनाको टोली विमानबाट रेसुंगा आएका थिए । 

घर फर्किएकाहरु विमान आएपछि बीच बाटोबाटै फर्किए

२०६३ को असार २५ गते त्यो विमानस्थलको तत्कालिन पर्यटन तथा संस्कृति मन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गर्नु भएको थियो । संयोगले ज्ञवाली अहिले परराष्ट्र मन्त्री बनेको अवस्थामा उहाँ परीक्षण उडानमा सहभागी हुन शुक्रबार बिहान निजी हेलिकप्टरमा विमानस्थल आउनुभएकोे थियो ।

कतिबेला मौसम अनुकुल होला भनेर आकासमा मडारिएको कालो बादल र विमानस्थल वरिपरी मडारिएको कुहिरो र सिमसिम पानीसँगै दिनभर विमानको प्रतिक्षा गरेका गुल्मेलीहरुसँगै बसेका मन्त्री ज्ञवाली अन्तत विमान आउनु अघि नै काठमाडांै फर्कनु भएको थियो ।
 

खराब मौसमका कारण विमान आउने सम्भावना न्यूनभएको भन्दै उहाँ फर्कनु भएको हो । मन्त्री फर्केसँगै अब विमान आउँदैन भनेर आश मार्दै कतिपय नागरिकहरु पनि निराश हुँदैै घर फर्किएका थिए ।

तर जब विमान आउछ भन्ने सूचना पाएर सुरक्षाकर्मीहरुले विमानस्थल वरिपरिको क्षेत्र खाली गर्न थाले त्यसपछि घर फर्किएकाहरु नागरिक पनि बाटोबाटै फर्केर विमान हेर्न डौडिरहेका देखिन्थे । 

गएको महिनाको अन्तिम साता परीक्षण उडान गर्ने भनिए पनि विविध प्राविधिक समस्याका कारण त्यो समयमा परीक्षण उडान हुन सकेको थिएन । समितिको संयोजनमा जेठ २५ गतेलाई परीक्षण उडानको समय तोकिएको विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्थले बताउनुभयो ।

विमानस्थल निर्माण शुरु भएको एक दशक लामो समयपछि जिल्लामा पहिलो पटक परीक्षण उडान गरिएको हो । परीक्षण उडानका लागि विमानस्थलमा ५  सय ५०  मिटर लम्बाई र २ सय मिटर चौडाई कायम गरी धावन मार्गको फिल्ड तयार गरिएको रेसुंगा विमानस्थल आयोजनाका सब–इञ्जिनियर दीनेश परियारले बताउनुभयो । 
विमानस्थल निर्माण कार्य शुरु भएको लामो समयसम्म पनि काम सम्पन्न नहुँदा जहाज चढ्ने सपना बोकेर निराश बनेका गुल्मेलीहरु विमान आएपछि खुशी भएका थिए । नेपाल सरकाले विमानस्थल निर्माणका लागि अहिलेसम्म १४ करोड १७ लाख ८० हजार रुपैयाँ खर्च भइसकेको समितिका अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।

 
एक दशकदेखि निर्माणधिन विमानस्थलको कामले अपेक्षाकृत गति लिन नसक्दा रेसुंगा विमानस्थलमा जहाज उड्ने कुरा गुल्मेलीका लागि सपनाको फल जस्तै बनेको थियो ।
गुल्मीमा नियमित रुपमा विमानस्थल सञ्चालनमा आएमा गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, बाग्लुङ, पाल्पा र स्याङजाबासीहरुका लागि पनि सहजता मिल्ने बताइ्एको छ । विमानस्थल निर्माण कार्यको जिम्मा सुनिल समीर निर्माण सेवाले लिएको छ । रेसुंगा विमानस्थलको अहिले ७८ रोपनी १० आना क्षेत्रफल रहेको बताइएको छ ।

विमानको परीक्षण उडान लगत्तै त्यसलाई कालोपत्रे गर्ने र त्यसका लागि आवश्यक संरचना बनाउने काम चाँडैनै शुरु गरिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आश्वासन दिनुभएको छ । विमानस्थल संचालन भएपछि जिल्लाको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने जिल्लाबासीहरुकोे अपेक्षा छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया