काेशीकाे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

 भदौ २२, २०८० शुक्रबार १९:११:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

सर्वोच्च अदालतको परमादेशअनुसार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज शुक्रवार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्की प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बन्नुभएको हो ।

यसअघि गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका उद्धव थापाले प्राप्त गरेको विश्वासको मत सर्वोच्चले अदालतले बदर गरेको थियो । संविधानको धारा १६८ को उपधारा २ बमोजम संयुक्त सरकारका मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न नसकेको ठहर भएपछि उपधारा ३ बमोजिम कार्की मुख्यमन्त्री बन्नुभएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कार्कीले एमालेका तिलकुमार मेन्याङ्वोलाई ऊर्जा, पाँचकर्ण राईलाई वन, एकराज कार्कीलाई भौतिक पूर्वाधार मन्त्री र सृजना राईलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । मन्त्री र राज्यमन्त्रीले पनि आजै शपथ लिएका छन् ।

मुख्यमन्त्री कार्कीले नियुक्त भएको ३० दिनभित्र विश्वासकाे मत लिनुपर्छ । हिजो बिहीवार सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको सरकारलाई अवैधानिक ठहर गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । कार्की दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनुभएको छ । कोशी प्रदेशमा प्रदेशसभा चुनाव भएको नौ महिनामा चार पटक मुख्यमन्त्री नियुक्त भएका छन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया