तीनकुने सामूहिक हत्याकाण्डका आरोपी सार्वजनिक

 भदौ ३१, २०८० आइतबार १९:५७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे तीनकुने सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज आइतवार बेलुकी प्रहरीले काठमाण्डाैमा पत्रकार सम्मेलन गरी हत्याकाण्डका आरोपी सिन्धुपाल्चोककाे बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो । घटनापछि खुकुरीसहित भागेका उनलाई सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको प्रहरीले बताएको छ । बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको छ ।

गएकाे शुक्रवार राति तीनकुनेको दिव्य सःमिलमा विशाल राईसहित चार जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । प्रहरीले रिसइबीका कारण यो घटना भएको र बाँकी अध्ययन गर्दै जाने बताएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाण्डाैकाे काँडाघारीमा रहेकाे वीरेन्द्र चोकमा बस्दै आएका बताउनुभयो । भण्डारीलाई घटनाको क्रममा लगाएको कपडासहित पक्राउ गरिएको राठाैरले बताउनुभयो । केही दिनअघि विशाल राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र त्यही रिसइबी साँध्नका लागि भण्डारीले बारम्बार प्रयास गरेको र त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको एसएसपी राठाैरले बताउनुभयो ।

पक्राउ परेका भण्डारी बोल्न नसक्ने भएकाले प्रहरीले लेख्न लगाएको थियो । लेखेर उनले घटनाको स्वीकार गरेका थिए । उनले दिदी–भिनाजुको घरबाट विशाल राईलाई भेटे मार्दिन्छु भन्दै खुकुरी बोकेर ल्याएको एसएसपी राठाैरले बताउनुभयो । भण्डारीले सःमिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको प्रहरीकाे भनाइ छ । राईकाे हत्या गरिसकेपछि अन्य तीन जनाले पनि देख्ने डरले भण्डारीले उनीहरूकाे हत्या गरेकाे अनुसन्धानबाट खुलेको एसएसपी राठाैरकाे भनाइ छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया