बाइडेनको 'नुडल कुटनीति' भोजनालय, अमेरिकी सम्बन्धलाई न्यानो बनाउने चिनियाँ नजर

 कात्तिक २८, २०८० मंगलबार १६:३७:३२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

बेइजिङको सडकमा सुँगुरको कलेजो, फोक्सो र आन्द्राको हार्दिक व्यञ्जन पस्किने एउटा सामान्य रेस्टुरेन्ट कुनै समय अपरम्परागत चीन–अमेरिका सम्बन्धको स्थल थियो ।

सन् २०११ को भ्रमणमा अमेरिकाका तत्कालीन उपराष्ट्रपति जो बाइडेन याओजी चाओगनमा दिउँसो भोजनका लागि जानुभयो र यसले उहाँको ‘नुडल कुटनीति’ लाई लिएर सामाजिक मिडियामा क्रेज बढ्यो ।

यो हप्ता चिनियाँ राजधानीको ऐतिहासिक हटोङ इलाकामा एउटा रेस्टुरेन्टबाहिर चिनियाँ सर्वसाधारणले चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटले उहाँहरूको आफ्नै कुटनीतिक सफलता हासिल गर्न सहयोग गर्ने अपेक्षा गरेका छन् ।  

बाइडेन र सीले यसै हप्ता सान फ्रान्सिस्कोमा व्यापारदेखि भू–राजनीतिक तनावसम्मका महत्त्वपूर्ण मुद्दामा विचार विमर्श गर्दै हुनुहुन्छ । यो उहाँहरूको एक वर्षभन्दा लामो समयपछिको पहिलो भेटवार्ता हुनेछ ।

बेइजिङको सात सय वर्ष पुरानो ड्रम टावर नजिक यात्रुहरूले दुवै नेताले विश्वका लागि एक हुन सिक्न आवश्यक रहेको एएफपीलाई बताए ।

‘चीन–अमेरिका सम्बन्ध तनावपूर्ण छ, तपाईँ यो देख्न सक्नुहुन्छ तर उनीहरू अत्यन्त निकटसँग जोडिएका पनि छन्’, आफ्नो थर मात्र बताउने अर्थशास्त्रकी छात्रा युआनले भनिन्, ‘यी विशाल वैश्विक आर्थिक प्रणाली भएका दुई अत्यन्त ठूला देश हुन्, त्यसैले यो अत्यन्त महत्त्वपूर्ण छ, उनीहरूबीचको सम्बन्धले सम्पूर्ण विश्वको अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पर्दछ ।’

सुप र बनहरूको तात्तातो कचौराले बाहिरको चिसोलाई राहत प्रदान गरिरहेको खचाखच भरिएको बिस्ट्रोबाहिर सेवानिवृत्त चालक यूले प्रतिद्वन्द्वी देशका नेताहरूबीचको बैठकको स्वागत गर्दै अमेरिकी राष्ट्रपतिका लागि केही प्रशंसा गरे ।

‘यो वास्तवमै राम्रो हो, मानिसले वास्तवमै यसको प्रतिक्षा गरिरहेका छन्’, उनले भने, ‘चीनमा हामीमध्ये धेरैजसो वृद्धवृद्धाहरू अवकाश भइसकेका छन् तर बाइडेन अहिले पनि अमेरिकीका लागि लडिरहनुभएको छ, उहाँसँग धैर्य हुनुपर्छ साथै अमेरिकीको समर्थन पनि हुनुपर्दछ ।’

चीनको राजधानीमा बाइडेनको रात्रिभोजपछि चीन–अमेरिका सम्बन्धमा गिरावट आएको छ र व्यापारदेखि ताइवानसम्मका थुप्रै मुद्दामा बेइजिङ र वाशिङ्टनबीच विमति कायम छ ।

चीनमा नागरिकको राय नाप्न कठिन छ । मिडियामा व्यापक सेन्सरशिप लगाइएको छ र मिडियाले पार्टीको लाइनको पालना गर्दछन् । नागरिक पनि सामान्यतया विदेशी सञ्चारमाध्यमसँग विवादास्पद विषयमा विचार दिन अनिच्छुक हुन्छन् ।

चालक यूले सम्बन्धहरूको वर्तमान स्थितिजस्ता ‘उच्चस्तरीय मामिला’ सँग आफूलाई कुनै सरोकार नभएको बताए । यद्यपि उनले दुई देशबीचको भिन्नताका कारण उनीहरूले मिल्न सिक्नु महत्त्वपूर्ण हुने बताए । 

‘अमेरिका निश्चितरूपमा केही पक्षमा चीनभन्दा बलियो छ र चीन निश्चितरूपमा अन्य पक्षमा अमेरिकाभन्दा बलियो छ’, उनले भने, ‘यी दुई देश एकअर्काका परिपूरक हुन् ।’

यद्यपि केही मानिसले बेइजिङ र वाशिङ्टनबीचको बढ्दो भिन्नतातर्फ सङ्केत गर्दै कुनै पनि सम्झौता गर्न कठिन हुने बताएका छन् । आफ्ना कम्पनीहरूमाथि आर्थिक प्रतिबन्ध देशको विकास रोक्ने प्रयास हो भन्ने चिनियाँ सरकारको धारणालाई उनीहरूले दोहोर्‍याएका छन् ।

‘निश्चितरूपमा बाइडेनले आफ्नो देशको हितको रक्षामा ध्यान केन्द्रित गर्नुहुन्छ’, छात्रा युआनले भनिन्, ‘उहाँले केही यस्ता निर्णय लिन सक्नुहुन्छ जुन हाम्रो बुझाइभन्दा पर हुनसक्छ ।’

अमेरिकी राष्ट्रपतिप्रति शत्रुतापूर्ण व्यवहार देखाउने अन्य केही मानिसले भने बाइडेनले वैश्विक मुद्दाको समाधान गर्नुको सट्टा घरेलु समस्याहरू सुल्झाउन अधिक समय दिनुपर्ने राय व्यक्त गरेका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा एक व्यक्तिले भने, ‘जहिलेदेखि बाइडेनले सत्ता सम्हाल्नुभयो, सम्पूर्ण वैश्विक अर्थतन्त्र अधोगतिमा गइरहेको छ, उहाँले युक्रेन र इजराइलमा भएका युद्धतिर नभएर अर्थतन्त्रमा ध्यान दिनुपर्छ ।’

बाइडेनको उमेर आफ्नो विचार बनाउनका लागि महत्त्वपूर्ण कारक हो कि भनेर प्रश्न गर्दा उनले भने, ‘यो उमेरको कुरा होइन, चीनका नेताहरू पनि वृद्ध छन् ।’

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया