काँकडभिट्टा नाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात, कोदो र आलुमा पनि भारतकै भर

 मंसिर ११, २०८० सोमबार १०:५५:११ | रासस
unn.prixa.net

फाइल तस्बिर

झापा - पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ ।

प्लान्ट क्वरेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट ४७ करोड ९७ लाख ६० हजार रुपैयाँ बराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ ।

त्यही अवधिमा नेपालबाट ९ नौ करोड ६५ लाख ७२ हजार आठ सय रुपैयाँ बराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताउनुभयो । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महिनामै ३८ करोड ३१ लाख ८७ हजार दुई सय रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।

नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेँडा छन् । यीमध्ये सबैभन्दा बढी नौ करोड ५४ लाख ७२ हजार रुपैयाँ बराबरको पाँच हजार नौ सय ६७ मेट्रिक टन बन्दाकोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिनुभयो ।

यसैगरी तरकारीमा गोलभेँडा पाँच लाख १२ हजार रुपैयाँ बराबरको २६ मेट्रिक टन र पाँच लाख ८९ हजार रुपैयाँ बराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेँडा भारत निर्यात हुने गरेको छ ।

१९ करोड रुपैयाँ भन्दा बढीको गोलभेँडा आयात

चालु आवको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेँडा मात्रै १९ करोड ३७ लाख ४० हजार रुपैयाँ बराबरको नौ हजार छ सय ८७ मेट्रिक टन आयात भएको छ ।

त्यही अवधिमा भारतबाट दुई करोड सात लाख ८० हजार रुपैयाँ बराबरको एक हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र तीन करोड ७१ लाख ८० हजार रुपैयाँ बराबरको एक हजार आठ सय ५९ मेट्रिक टन गाँजर निर्यात भएको छ ।

तरकारीमध्ये मुला र बन्दाकोभीचाहिँ भारतबाट आयात भएको छैन । धनकुटा, इलाम, झापा, मोरङ, सुनसरीलगायतका कोशी प्रदेशका जिल्लामा बन्दाकोभीको ठूलो मात्रामा उत्पादन हुँदै आएको छ ।

कोदो र आलुमा पनि भारतकै भर

नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ । प्लान्ट क्वरेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा २३ करोड ६१ लाख ६० हजार रुपैयाँ बराबरको चार हजार नौ सय २० मेट्रिक टन कोदो भारतबाट आयात भएको छ ।

त्यही अवधिमा भारतबाटै ९९ करोड ८९ लाख चार हजार रुपैयाँ बराबरको ४१ हजार छ सय २१ मेट्रिक टन आलु आयात भएको कार्यालयले जनाएको छ । ती महिनामा एक अर्ब ८६ करोड ६५ लाख ६३ हजार रुपैयाँ बराबरको ३६ हजार सात सय ३० मेट्रिक टन फलफूल भारतबाट आयात भएको छ । यसैगरी यस अवधिमा दुई करोड ५९ लाख ९२ हजार रुपैयाँ बराबरको तीन सय ६१ मेट्रिक टन चना, नौ करोड २२ लाख चार हजार रुपैयाँ बराबरको एक हजार ३६ मेट्रिक टन मुसुरो दाल, १२ करोड ८६ लाख रुपैयाँ बराबरको एक हजार दुई सय ८६ मेट्रिक टन लसुन र ९८ लाख ५६ हजार रुपैयाँ बराबरको छ सय १६ मेट्रिक टन उखु भारतबाट आयात भएको छ ।
 
पूर्वीनाका काँकडभिट्टाबाट चालु आवको तीन महिनामा खाद्यान्न, ताजा तरकारी, दलहन, तेलहन, फलफूल, बोटबिरुवा, प्रशोधित सामग्री, काठका सामान, मसाला बाली र बीउबिजन गरेर कुल पाँच अर्ब १० करोड ६० लाख ३१ हजार रुपैयाँ बराबरको आयात भएको कार्यालयका सूचना अधिकारी ठाकुरले बताउनुभयो ।

त्यही अवधिमा तरकारी, जडीबुटी, प्लाइउडका सामान, अम्रिसोलगायतका कुल पाँच अर्ब २७ करोड ३६ लाख २९ हजार रुपैयाँ बराबरको नेपाली उत्पादन भारत, बङ्गलादेशलगायतका मुलुकमा निर्यात भएको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया