‍पोखरा महानगरपालिकामा सडक किनारका रुख काट्नेलाई जरिबाना

 मंसिर १२, २०८० मंगलबार ९:४८:१६ | रासस
unn.prixa.net

कास्की - पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिविना काट्नेलाई जरिबाना तिराएको छ । महानगरले पोखरा–८ न्युराेडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई पसलेलाई कारबाही गरेको हो ।

फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काइ फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाअनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ । पसल छेकिएको जनाउँदै अनुमतिविना रुख नै काटेका उनीहरूलाई १५ हजार रुपैयाँका दरले जरिबाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिनुभयो ।

महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखको हाँगा अनुमतिविना कटान गरेमा प्रतिहाँगा पाँच हजार र रुख नै काटेमा १५ हजार रुपैयाँ जरिबाना हुने व्यवस्था गरिएको छ ।

महानगरपालिकाले आफ्नो चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै पोखरामा एक घर दुई बिरुवाको नीति लिएको छ । चालु वर्षमा दुई लाख बिरुवा रोप्ने पनि घोषणा गरिएको छ । महानगरले वृक्षरोपण कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको छ । 

पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा हजारौँ बिरुवा रोपेको छ भने त्यति नै सङ्ख्यामा फूलका बिरुवा रोपिएका छन् । ‘पर्यटनका लागि जैविक विविधतायुक्त सहर’को नारासहित हरियाली विकास गर्न महानगरपालिकाका सडक तथा सिमानामा रहेका गाउँपालिका केन्द्र जोड्ने सडकको दायाँबायाँ वृक्षरोपण गर्ने कार्यक्रम महानगरको छ ।

सडक छेउमा लगाइएका बिरुवाको संरक्षण गर्न नगरवासीमा मेयर धनराज आचार्यले अनुरोध गर्नुभएको छ । पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने जनाउँदै आफ्ना घर अगाडिका बिरुवा तथा फूलहरूको संरक्षणका लागि उहाँले महानगरवासीमा आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया