जहाँ ४९ जिल्लाका विद्यार्थी पढ्छन्

 मंसिर १३, २०८० बुधबार १३:४१:५८ | रासस
unn.prixa.net

कास्की – धेरैजसाे सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलमा रहेकाे राष्ट्रिय माध्यमिक विद्यालयमा भने बर्सेनि विद्यार्थी आफैँ विद्यालय रोज्दै भर्ना गरिरहेका छन् । विसं २००६ मङ्सिर २० गते स्थापना भएकाे याे विद्यालय पछिल्लो समय गण्डकी प्रदेशकै ऐतिहासिक विद्यालयमध्येको एक मानिन्छ । पछिल्ला केही वर्षयता यस विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढिरहेको छ ।

कक्षा १ देखि १० सम्मका लागि बर्सेनि झन्डै तीन सय जनाको सङ्ख्यामा नयाँ विद्यार्थीले आवेदन दिने गरेका विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सीमित स्रोत, विद्यालयको क्षमता, पूर्वाधारलगायत कारणले एक सय जना विद्यार्थी भर्नाबाट वञ्चित हुने गरेका छन् ।

विद्यालयले बिहानकाे कक्षा सञ्चालन गर्दा २०६४/६५ सालतिर दुई हजार आठ सयसम्म विद्यार्थी भर्ना गर्ने गरेको सुनाउँदै प्रधानाध्यापक सापकोटाले अहिले एक हजार चार सय ३२ जना विद्यार्थी अध्ययन गरिरहेका जानकारी दिनुभयो ।

अङ्ग्रेजी माध्यमबाट निःशुल्क पठनपाठन

विद्यालयमा अहिले प्रारम्भिक बाल विकास कक्षा सहयोगी (ईसीडी) देखि कक्षा १२ सम्म ४९ जिल्लाबाट पोखरामा आएर बसोबास गर्ने विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा सञ्चालित ईसीडीदेखि कक्षा तीनसम्म 'सेमी मन्टेश्वरी' विधिमार्फत पठनपाठन भइरहेको छ ।

कक्षा ४ देखि १० सम्म अङ्ग्रेजी माध्यमबाट पूर्ण निःशुल्करूपमा सञ्चालन भइरहेकाे बताउँदै सापकोटाले विद्यालयमा अध्ययनरत विद्यार्थीको अनुशासन, नियमितता र प्रभावकारी शिक्षण सिकाइ तथा अतिरिक्त क्रियाकलाप अन्य सामुदायिक विद्यालयका लागि अनुकरणीय रहेको बताउनुभयो । ‘हरेक वर्ष यहाँ पढ्न चाहने विद्यार्थीको सङ्ख्या आवश्यकताभन्दा बढी हुँदै गएकाे छ । प्रवेशका लागि लिइने प्रवेश परीक्षामा आउने सङ्ख्या यसको उदाहरण हो’, उहाँले भन्नुभयो ।

महानगरभित्रको ईसीडीदेखि कक्षा १० सम्म कुनै शुल्क नलिएर (परीक्षा शुल्कसमेत) अङ्ग्रेजी माध्यममा शिक्षण गराउने एकमात्र विद्यालय भएको दाबी गर्दै प्रधानाध्यापक सापकोटाले कक्षा ११ र १२ मा पनि अत्यन्तै सुलभ शुल्कमा प्रायः सबै विषय समूहमा पठनपाठन भइरहेको जानकारी दिनुुभयो । उहाँका अनुसार विसं २०५४ देखि बिहानी सत्रमा कक्षा ११ र १२ तथा दिवा सत्रमा ईसीडीदेखि कक्षा १० सम्म पढाइ भइरहेकाेमा विद्यालयको व्यवस्थापन समितिको निर्णयअनुसार विसं २०७८ देखि सबै कक्षा दिवा सत्रमा सञ्चालन भइरहेका छन् ।

दिवा सत्रमा मात्रै पठनपाठन भएकाले विद्यालयका भवन तथा कक्षा कोठाको अभाव हुने गरेको सापकाेटाको भनाइ थियो । उहाँले बिहान प्रार्थना गराउने स्थल, पिउने पानी, हातधुने पानीका धारा, शौचालय, खेलकुद मैदान, चमेना गृह, पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशालालगायत पूर्वाधार थप गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

पोखराका ऐतिहासिक शैक्षिक संस्थामा भएका विभिन्न अभिलेखका आधारमा यस विद्यालयको स्थापना विसं २००६ मङ्सिर २० गते पब्लिक मिडिल स्कुलको नाममा भएको थियो । विद्यालयको तत्कालीन सञ्चालक समितिको अध्यक्षमा वडा हाकिम धनशमसेर जबरा, सचिवमा ऋषिकेशव पराजुली, कोषाध्यक्षमा प्रेमराज मुल्मी, सहसचिवमा सुन्दरप्रसाद मर्सानी र सदस्यमा दयाशङ्कर पालिखे र श्यामप्रसाद कर्माचार्य हुनुहुन्थ्यो । विसं २००७ मा विद्यालयले स्थायी स्वीकृति प्राप्त गरेको थियो ।

विद्यालय सञ्चालन गरिएको नारायणस्थानमा भवन निर्माणका लागि जग खन्दा जमिन भासिएपछि पोखरा–१ मा भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणाले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन समयमा विद्यालयले चर्चेको जग्गा स्व. रत्नाखर पराजुली र उहाँको परिवारको नाममा थियो । विद्यालयलाई झन्डै ७२ रोपनी जग्गा प्रदान गरेर पराजुली परिवारबाट ठूलो योगदान भएको उहाँले बताउनुभयो ।

विद्यालयको विसं २०१३ मङ्सिर २१ गते तत्कालीन सञ्चालक समिति, श्री ५ को सरकार र अमेरिकी सहायता नियोगबीच भवन निर्माणका लागि सम्झौता भएपछि यस भवन शिलान्यास भएको इतिहास सुरक्षित रहेको राणाले जानकारी दिनुभयो । प्रशासनिकबाहेक अन्य भवनका ढलान प्राविधिकरूपमा जीर्ण भई असुरक्षित देखिएकाेले विसं २०६७ मा टिनका छानाले प्रतिस्थापन गरिएको उहाँले बताउनुभयो ।

शैक्षिक उपलब्धिमा उत्कृष्ट

विद्यालयबाट विसं २०११ मा प्रथम पटक एसएलसी परीक्षामा पाँच विद्यार्थी सहभागी भएकामा चार जना उत्तीर्ण भएको अभिलेख रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राणाले जानकारी दिनुभयो । ‘विसं २०१५ देखि राष्ट्रिय बहुउद्देश्यीय उच्च माविका रूपमा सञ्चालन गरिएको थियो । विसं २०२८ देखि पुनः साधारण माविको रूपमा आफ्ना शैक्षिक क्रियाकलाप अगाडि बढाएको थियो’, उहाँले भन्नुभयो ।

विसं २०३१ को एसएलसी बोर्डमा विद्यालयका दानकुमार प्रधान र शङ्करराज श्रेष्ठले क्रमशः प्रथम र द्वितीय स्थान  प्राप्त गर्नुुभएको थियो । विसं २०१८ र २०२५ को नतिजामा नेपालकै उत्कृष्ट १० भित्र परेको गौरवमय इतिहास विद्यालयमा सुरक्षित रहेको अध्यक्ष राणाको भनाइ थियो । विसं २०४५ मा पोखराको पहिलो पब्लिक क्याम्पसका रूपमा पोखरा बहुमुखी क्याम्पसको स्थापना यसै विद्यालयमा भएको थियो ।

स्थापनाको ४८ औँ वर्षसम्म कक्षा १० सम्म मात्र पढाइ भइरहेकाेमा विसं २०५४ देखि कक्षा ११ र १२ को पढाइ सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । पृथ्वीनारायण क्याम्पस पोखराले प्रवीणतापत्र तहको अध्यापन खारेज गरेपछि प्रवीणता तह पढ्ने विद्यार्थी झन् बढेका उहाँको भनाइ थियो ।

विद्यालयबाट उत्पादित प्रतिभा देशको राजनीतिक, प्रशासनिक, व्यापारिक, साहित्यिक, साङ्गीतिक, औद्योगिक, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा पुगेका पूर्वविद्यार्थी एवम् पत्रकार रोहितराज पराजुलीले बताउनुभयो ।

स्थापनाको ७५ औँ वर्ष पुगेको उपलक्ष्यमा यही मङ्सिर २० गतेदेखि विद्यालयले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको व्यवस्थापन समितिका अध्यक्ष राणाले जानकारी दिनुभयो । प्रभातफेरीबाट कार्यक्रमको शुभारम्भ गरी प्रत्येक महिनाका लागि कम्तीमा एक/एक कार्यक्रम गर्ने नीति लिइने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया