भूकम्प प्रभावित क्षेत्रमा पठनपाठन सहज हुन सकेन

 मंसिर १६, २०८० शनिबार ८:२१:० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन शुरु भए पनि सहज हुन सकेको छैन ।

भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि प्रभावित ती जिल्लाका हजारौँ विद्यार्थी अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चाैरमा बसेरै पठनपाठन गर्न बाध्य छन् । सिकाइ केन्द्रमा बसाइँ व्यवस्थापन तथा अध्ययन गर्न विगतमा जस्तो सहज नभएको विद्यार्थीको गुनासो छ ।

गएको मंसिर ४ गतेदेखि नै पठनपाठन शुरु भएको हो । तर शिक्षक/विद्यार्थीमा भूकम्पको त्रास अझै हटिसकेको छैन भने विगतमा जस्तो सहज वातावरण पनि छैन । कतिपय विद्यार्थीको शैक्षिक सामग्री पुरिएका छन् । कापीकिताब पुरिएकाहरु रित्तै विद्यालय जाने गरेका छन् ।

जाजरकोट र रुकुम पश्चिममा झण्डै १४ हजार बालबालिकाले पाठ्यपुस्तकविना नै पढ्नुपर्ने बाध्यता छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ जामिरकोटकी कक्षा ८ मा पढ्ने सिन्दु मल्लले पढ्न/लेख्न मन नलाग्ने र भूकम्पकै डरत्रास हुने गरेको बताइन् । मल्ल जनविकास माध्यमिक विद्यालयमा पढ्नुहुन्छ ।

जनविकास माध्यमिक विद्यालयमा सात वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन शुरु गरिएको छ । अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन शुरु भए पनि विद्यार्थीको व्यवस्थापन तथा सिकाइमा समस्या हुने गरेको प्रधानाध्यापक दीपकसङ्गम थापा बताउनुहुन्छ । भूकम्पका कारण जनविकास माविमा अध्यनरत तीन जना विद्यार्थीले ज्यान गुमाएका छन् ।

त्यस्तै, रुकुम पश्चिमकै आठबीसकोट नगरपालिकामा एक सय ३९ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन भैरहेको छ । विद्यालयका भवनमा क्षति भएपछि अस्तव्यस्त हुँदा विद्यार्थीलाई पुरानैलयमा ल्याउन अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चाैरमा राखेर सामान्य खालको पठनपाठनसँगै मनोसामाजिक परामर्श दिने गरिएको आठबीसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिनुभयो ।

रुकुम पश्चिममा २ सय १३ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन थालिएको शिक्षा विकास समन्वय इकाइ प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया