बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा, ‘ज्याला पनि उठ्न गाह्राे’

 मंसिर २४, २०८० आइतबार १३:२२:४९ | रासस
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक ४ सयदेखि ५ सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले २ सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् ।  

गएको आर्थिक वर्ष झन्डै ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा बेहोर्नुका साथै बारीमै कुहिन थालेका वडाध्यक्ष उद्धव नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेँडाले बजार नपाउँदा भने निकै निराश भएका छन् ।

गएको वर्ष ३ लाख ३० हजार रुपैयाँको गोलभेँडा बिक्री गरेको जनाउँदै किसान रेशमबहादुर आलेमगरले यस वर्ष १ लाख रुपैयाँको पनि बिक्री नभएको बताउनुभयो । ‘बिउ, गोडमेल, औषधिलगायतमा झन्डै ३ लाख रुपैयाँ जति खर्च भएको छ‘, उहाँले भन्नुभयो, ‘गएको वर्षको तुलनामा यस वर्ष बढी खर्च भएको हो । झन्डै ६ लाख रुपैयाँ बराबरको उत्पादन भए पनि लगानी उठाउन समस्या छ ।’ 

इन्द्रबहादुर पुरीले गएको वर्ष ३ सय क्रेट बेच्दा दुई लाख १० हजार रुपैयाँ नाफा भएकोमा यस वर्ष ५ सय क्रेट बेच्दा पनि नाफा हुन नसकेको गुनासो गर्नुभयो । उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा लगानी उठाउन समस्या भएको उहाँको भनाइ थियो ।

गएको वर्ष २ लाख २३ हजार रुपैयाँको गोलभेँडा बेच्नुभएका खिनकुमारी बस्नेतले यस वर्ष झन्डै १ लाख रुपैयाँ घाटा बेहोर्नुपरेको सुनाउनुभयो । वैदेशिक रोजगारीबाट फर्किएर  गोलभेँडा खेतीमा लाग्नुभएका राजेन्द्र बस्नेतले यस वर्ष ज्याला पनि नउठ्ने जानकारी दिनुभयो । 

नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालले तत्काल नगरपालिकासँँग समन्वय गरेर गोलभेँडाको सस, अचार, काउली तथा सागको गुन्द्रुक बनाउन लागेको जानकारी दिनुभयो । उहाँले यसका लागि घरेलु तथा साना उद्योग कार्यालयबाट तालिमको व्यवस्था गर्न लागिएको बताउनुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया