पालिका उपचुनावको प्रचारका लागि आज अन्तिम दिन, रातिदेखि मौन ...
मंसिर १३, २०८१ बिहिबार
खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पर्ने भरङ्गे पुग्दा स्थानीय वीरबहादुर तामाङ चित्रा बुन्दै हुनुहुन्थ्यो । उहाँको श्रीमती भने भैँसी चराउँदै हुनुहुन्थ्यो । हत्तपत्त कोही नपुग्ने भरङ्गेमा पुग्दा तामाङ दम्पत्तीले नगरपालिका वा अन्य कार्यालयबाट कोही कर्मचारी पुगेको ठाने । बिना जानकारी ‘कोही किन आए’ भनेर खुलदुलीका साथ परिचय मागे । मध्यपहाडी राजमार्ग अन्तरगत हुर्लुङबाट जालपा जाने सडकबाट कच्ची शाखा सडक हुँदै भरङ्गे पुगिन्छ ।
भौगोलिक रुपमा कोल्टो परेको गाउँ । सम्पर्कका हिसाबले नितान्त एकान्त ठाउँ । सबैतिरबाट अपायक पर्ने ठाउँमा रहेकै कारण भरङ्गेमा जो कोही पुग्दैनन् । कतिसम्म भने चुनावका बेला भोट माग्न उम्मेदवार समेत भरङ्गे नपुग्ने गरेको तामाङले बताए । भरङ्गेमा नेता तथा उम्मेदवारले आफ्ना कार्यकर्तालाई भोट माग्न पठाउने गरेका छन् । ‘चुनावका बेला भोट माग्न उम्मेदवार त के नेता समेत आउँदैनन् यो ठाउँमा,’ तामाङले भने, ‘विभिन्न पार्टीको भोट माग्न हाम्रै दाजुभाइहरु आउँछन् । यहाँ भोट दिनु, त्यहाँ भोट दिनु भनेर फर्कन्छन् ।’
साविकको सदरमुकाम दिक्तेल समेटिएको नगरपालिकाभित्र पर्छ भरङ्गे तर भरङ्गेलाई हालसम्म पूर्वाधार विकासले छुन सकेको छैन । विकासमा पछि परेको भरङ्गेमा तामाङ समुदायको ११ परिवार बसोबास छ । वडा कार्यालय पुग्न उनीहरुलाई कम्तीमा पैदल दुई घण्टा हिँड्नुपर्छ । भरङ्गेबासीले दुःखसुख आठ/नौ वर्षअघि विद्युत् पुर्याएका छन् । २०७९ सालमा वडा कार्यालयले विनियोजन गरेको रकमले भरङ्गे पुग्ने कच्ची सडक बनाइएको छ । भरङ्गेबाट रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको गोपिनी जोड्ने सडक विस्तार गर्न बाँकी नै छ ।
केही समयअघि लंखुरीबाट खानेपानी योजना ल्याउन भर्खरै नापजाँच भएको तामाङले बताए । दशकअघि जनसेवा समाज नेपाल जालपाबाट भरङ्गेमा खानेपानी योजना सञ्चालन गरिएको थियो तर हुर्लुङ–जालपा सडक निर्माणका क्रममा खानेपानी योजनाको पाइप क्षतविक्षत भएपछि भरङ्गेमा पुनः नयाँ योजना सञ्चालन गर्ने तयारी गरिएको हो । त्यस बाहेक भरङ्गेमा कुनै पनि योजना तथा परियोजना पुग्न सकेको छैन । भरङ्गेवासी शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतासँग जुधिरहेका छन् ।
छैन नजिक स्कुल
भरङ्गेमा ठूला–ठूला डिलमा हिँड्नका लागि भर्याङजस्तो खुड्किलो बनाइएका कारण गाउँको नामै ‘भरङ्गे’ रहन पुगेको हो । भरङ्गेमा नजिक स्कुल छैन । आधारभूत तहकै पढाइका लागि भरङ्गेका छात्र/छात्रा नुनथलाको हुर्लुङस्थित जनकल्याण प्राविमा पुग्छन् । जनकल्याण प्राविबाट कक्षा ३ पार गरेपछि उनीहरु मुढेस्थित सिद्धेश्वरी आवि निगाले पुग्छन् ।
आर्थिक अवस्था मजबुत हुने अभिभावकले बालबच्चलाई निजी विद्यालयमा लगेर पढाउँछन् । हाल जनकल्याण प्राविमा भरङ्गेका सात जना विद्यार्थी अध्ययनरत रहेको प्रधान अध्यापक तीर्थ तामाङले बताउनुभयो । भरङ्गेका विवेक गुरुङ र सुविन तामाङ कक्षा १ मा, विकास तामाङ र समीर तामाङ कक्षा २ मा, शुष्मा तामाङ, सुमिना तामाङ र समिक्षा तामाङ कक्षा ३ मा पढ्छन् । भरङ्गेबाट जनकल्याण प्रावि पुग्न उनीहरुलाई करिब एक घण्टा लाग्छ । ‘उनीहरु नियमित स्कुल आउँदैनन् । दुई तीन दिन आउँछन्, दुई तीन दिन आउँदैनन्, प्रअ तामाङले भन्नुभयो, ‘घरैमा गएर गएर सम्झाइ बुझाइ गर्दा पनि विद्यार्थीको उपस्थितिलाई नियमित गर्न सकिएको छैन ।’
सिद्धेश्वरी आधारभूत विद्यालयमा भरङ्गेका चार जना विद्यार्थी अध्ययनरत छन् । सुस्मिता तामाङ र स्मृति तामाङ कक्षा ८ मा, सुशिल तामाङ कक्षा ५ मा र सुवास तामाङ कक्षा ४ मा पढ्छन् । उनीहरुलाई भरङ्गेबाट निगाले पुग्न डेढ घण्टा लाग्ने गरेको प्रधान अध्यापक बिन्दा थापा बताउनुहुन्छ । यस्तै, सिद्धेश्वरी आधारभूत विद्यालयमा तल्लो हुर्लुङका अप्सरा राई र संकल्प राई कक्षा ७ मा, प्रदिप राई कक्षा ६ मा, समिक्षा राई कक्षा ५ मा र अनमोल राई कक्षा ४ मा अध्ययनरत छन् । उनीहरु अप्ठ्यारो बाटो पार गर्दै विद्यालय जाने आउने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।