भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन : स्वास्थ्य मन्त्रालय

 पुष ५, २०८० बिहीबार ८:१२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टबाट तत्काल डराउनुपर्ने अवस्था नरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो नयाँ भेरियन्टको जोखिम नेपाल पनि बढेको तर नआत्तिन सबैमा आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा भारतको केरला राज्यमा सङ्क्रमण देखिएको र यसबाट त्यति धेरै डराउनु नपर्ने बताउनुभयो । उहाँले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

डा. बुढाथोकीले विगतमा कोरोनाकै बेला तयार गरिएको सघन उपचार कक्ष (आईसीयू), अक्सिजनलगायत भौतिक पूर्वाधार अहिले पनि आवश्यक परेका बेला प्रयोग गर्न सकिने बताउनुभयो ।  तर अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले भारत र चीनमा श्वासप्रश्वासको समस्या बढिरहेको छ । त्यही श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको र नेपालमा सङ्क्रमण देखिए र फैलिएमा भैरहेका भौतिक पूर्वाधार र जनशक्ति प्रयोग हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ ।

डा. बुढाथोकीका अनुसार सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई तयारी अवस्था राखिएको छ । साथै श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न पनि आग्रह गरिएको छ । लामो समयसम्म श्वासप्रश्वासमा समस्या देखिएका बिरामीलाई अणुवांशिक अध्ययन अर्थात् जिन सिक्वेन्सिङ गर्न भनिएको छ ।

धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको हुनाले नयाँ भेरियन्टको सङ्क्रमणको रोकथाम पनि विगतमा लगाएको खोपले नै गर्ने डा. बुढाथोकीले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतको केरला राज्यमा कोभिड–१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि गरिसकेको छ ।

नयाँ सवभेरिएन्ट जेएन डट वान हो । डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो सवभेरिएन्ट बीए टू डट एट सिक्सको वंशज हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नयाँ सवभेरिएन्टको सङक्रमणबाट ज्वरो आउने, सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, पेट दुख्ने र पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् ।

कोरोना भाइरसको स्वरूपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले नेपालमा पनि सतर्कता अपनाउनु पर्ने जनस्वास्थ्य विद्को सुझाव छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया