कञ्चनपुर–कैलाली अन्तर्गत पूर्व–पश्चिम राजमार्ग मर्मतको काम शुरु

 पुष ५, २०८० बिहीबार ८:४२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम शुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मतका लागि ठेक्कामार्फत् काम अगाडि बढेको हो ।

राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी काम अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारानाथ सिग्देलले बताउनुभयो । उहाँका अनुसार पटके मर्मतका लागि लम्कीबाट अत्तरिया र कान्ला पुलबाट गड्डाचौकीसम्म ठेक्कामार्फत काम भइरहेको छ ।

राजमार्गको कैलाली खण्डमा ८० किलोमिटर र कञ्चनपुर क्षेत्रमा १२ किलोमिटर क्षेत्रमा मर्मत भइरहेको उहाँले बताउनुभयो । सडक मर्मत तीन महिनाभित्र काम सक्नेगरी एक करोडमा ठेक्का आह्वान गरिएको र यही पुस मसान्तसम्म अन्तिम म्याद रहेको उहाँले जानकारी दिनुभयो ।

पटके मर्मतका लागि वर्षमा दुईपटक ठेक्का आह्वान गरी काम हुँदै आएको छ । यसैगरी चिसापानीबाट लम्कीसम्मको १० किलोमिटर सडकमा कालोपत्रमाथि कालोपत्रको लेयर थप्ने काम सात करोडमा ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौताअनुसार यो काम मङ्सिर महिनाभित्रै सक्नुपर्नेमा पुस लागिसक्दा पनि सकिएको छैन ।

निर्माण सामग्री अभावमा व्यवसायीले काम नसकेकाले म्याद थपका लागि निवेदन दिएको उहाँले जानकारी दिनुभयो । अबको ८/१० दिनमा काम सकिने र त्यसका लागि निर्माण व्यवसायीलाई म्याद थप गर्नेबारे प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी सिग्देलले बताउनुभयो ।  

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया