उखुको रस पकाएर खुदो र गुड, गाउँबाटै बिक्री भएपछि किसान मक्ख

 पुष १७, २०८० मंगलबार ११:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उखुको रस पकाएर खुदो र गुड बनाउने चलन केही ठाउँमा अझै कायमै छ । गुल्मी, कास्कीलगायतका जिल्लामा उखुको रसबाट खुदो र गुड बनाउने गरिन्छ । 

महोत्तरीलगायत तराई/मधेसका जिल्लामा भने उखुबाट मिठ्ठा अर्थात् सक्खर बनाउने गरिन्छ । पहाडी क्षेत्रमा पाखो बारीमा लगाइएको उखुको रसबाट खुदो र गुड बनाएर बजारमा बिक्री गरी किसानले आम्दानी गर्दै आएका छन् । 

गुल्मीको रुरु र छत्रकोट गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका मालेपाटन र ढोडबेसीँलगायतका क्षेत्रमा यो चलन कायमै छ । उखुका लागि गुल्मीको थानपति, बलेटक्सार, दिगाम, हर्दिनेटा, थोर्गा पकेट क्षेत्रको रुपमा चिनिन्छन् । 

किसानले परम्परागत शैलीमा गर्दै आएको उखु खेतीलाई प्रविधिको विकाससँगै आधुनिक मेसिनको प्रयोगबाट खुदो र गुड बनाइ जीविकोपार्जन गर्दै आएका छन् । गुड र खुदो स्थानीय बजारका साथै पाल्पा, बुटवल, पोखरा, काठमाण्डौदेखि विदेशसम्म पुग्ने गरेको छ ।

 

गुल्मीको गुड र खुदो कोसेलीको रुपमा समेत प्रयोग हुन्छ । त्यस्तै, पोखरा–३२ मालेपाटन र ढोडबेँसीमा ८० परिवारले २ सय रोपनीमा उखु खेती गर्दै आएका छन् । उखुका लाक्रा मेसिनमा पेलेर रस निकालिन्छ र त्यो रसलाई आगोमा पकाउने गरिन्छ ।

त्यसलाई लामो समयसम्म उमालेपछि खुदो बन्छ । पहिला कोलमा उखु पेल्ने गरे पनि अहिले बिजुलीबाट चल्ने कोल उपलब्ध छ । यसले अलि सहज भएको ढोडबेँसीका किसान काशी धमला बताउनुहुन्छ । अहिले गाउँबाटै खुदो र गुड बिक्री हुने गरेको छ ।

पहिला उखुको उत्पादन धेरै हुने तर मूल्य नपाउने समस्या थियो तर अहिले उत्पादन कम हुँदै गएको तर मूल्य राम्रो पाउने गरेको किसान धमला बताउनुहुन्छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया