लमजुङमा 'हाई अल्टिच्युड' प्याराग्लाइडिङ विद्यालय स्थापना

 पुस १८, २०८० बुधबार १९:१४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लमजुङमा 'हाई अल्टिच्युड' को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले विद्यालय सञ्चालनमा ल्याएको हो ।

तीन हजार नौ सय मिटर उचाइमा रहेको विद्यालयमा उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिनुभयो । नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र पालिकासँगको सहकार्यमा विद्यालय सञ्चालन गरिएको उहाँको भनाइ छ ।

प्याराग्लाइडिङ विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । गाउँपालिकामा रहेको भेडीगोठसहितका अन्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पनि प्याराग्लाइडिङ विद्यालय महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

पालिकामा प्याराग्लाइडिङ विद्यालय स्थानीयका लागि समेत नयाँ अवसर भएको अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटकीय क्षेत्रमा नै विद्यालय सञ्चालन हुँदा स्थानीयलाई रोजगारी प्राप्त हुन्छ । यसबाहेक स्थानीयले तालिमसमेत लिन मिल्ने भएपछि रोजगारीको समेत अवसर हो ।’

बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले नौ वर्षदेखि स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ विद्यालय सञ्चालन गर्दै आएको छ । प्याराग्लाइडिङ विद्यालयसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन् । भर्खरैमात्र रेडबुलको 'एड्भेन्चर' टोली नेपाल आएर विद्यालयको अवलोकन गरेको थियो । त्यसपछि उनीहरूले विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको सञ्चालक सुनुवारले बताउनुभयो ।

नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक 'हाई अल्टिच्युड' प्याराग्लाइडिङका लागि आउने नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो । सामान्य प्याराग्लाइडिङ विश्वको धेरै ठाउँमा उपलब्ध रहेको भए पनि 'हाई अल्टिच्युड' भने नभएको उहाँको भनाइ छ ।

नेपालमा 'हाई अल्टिच्युड' प्याराग्लाइडिङको अत्यधिक सम्भावना रहेकाले याे विद्यालय महत्त्वपूर्ण हुने भट्टराईको विश्वास छ । ‘नेपालमा प्याराग्लाडिङ र साहसिक पर्यटनका लागि धेरै उत्कृष्ट गन्तव्य छन्, उहाँले भन्नुभयो । विद्यालय सञ्चालनले साहसिक प्याराग्लाइडिङ उडानमा दक्ष जनशक्तिको उत्पादन र विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया