भजनशिराेमणि आचार्यप्रति श्रद्धाञ्जली अर्पण

 फागुन १५, २०८० मंगलबार १५:२०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा दिइरहने बताउनुभएको छ ।

आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले उहाँको योगदान देशका लागि महत्त्वपूर्ण रहेको स्मरण गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले स्वर्गीय आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो ।

यस्तै नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्व. भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । आचार्यको पार्थिव शरीरमा श्राद्धाञ्जली दिँदै ओलीले नेपाली साङ्गीतिक जगतका विख्यात नक्षत्रको क्षति भएको बताउनुभयो ।

प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरूले आचार्यप्रति श्रद्धाञ्जली दिइरहेका छन् । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

भजनशिरोमणि उपाधि पाउनुभएका भक्तराज आचार्यको हिजो ८२ वर्षको उमेरमा निधन भएको थियो । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै हुनुहुन्छ । विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यले चार सय वटाभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतालगायतले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया