निजी विद्यालयले खोले फागुनमै भर्ना, शिक्षा मन्त्रालय भन्छ– ‘पालिकाले कारबाही गर्न सक्छन्’

 फागुन १६, २०८० बुधबार १५:२६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – सरकारले वैशाख १ गतेदेखि मात्रै विद्यार्थी भर्ना अभियान शुरु गर्ने भए पनि कतिपय निजी विद्यालयले फागुनमै भर्ना खुला गरेका छन् । चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक गरेपछि बल्ल वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर नयाँ भर्ना गर्नुपर्ने भएपनि निजी विद्यालयले झन्डै दुई महिनाअघि नै भर्ना शुरु गरेका हुन् ।

भक्तपुरको मातृभूमि माध्यमिक विद्यालयले फागुन १० गते नै सूचना निकालेर कक्षा नर्सरीदेखि कक्षा ८ सम्म भर्ना खोलेको छ । आलोक विद्याश्रम काठमाण्डौदेखि भक्तपुर, ललितपुर र काठमाण्डौका कैयौँ निजी विद्यालयले विद्यार्थी भर्ना अभियान शुरु गरेका छन् ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा फागुनमै विद्यार्थी भर्ना गरेर गलत गरेको बताउनुहुन्छ । उहाँले सङ्घीयताको मर्मअनुसार शिक्षाको सम्पूर्ण जिम्मेवारी पालिकालाई भएकोले कक्षागत अन्तिम परीक्षाअघि नै भर्ना शुरु गर्ने विद्यालयलाई पालिकाले कारबाही गर्नुपर्ने बताउनुभयो ।

निजी तथा आवासीय माध्यमिक विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठ कक्षा १ सम्मको भर्ना सरस्वती पूजादेखी शुरु भए पनि कक्षा १ भन्दा माथिल्लो कक्षामा अहिले नै भर्ना खुला गर्न नहुने बताउनुहुन्छ ।

निजी विद्यालयले कानुन विपरीत गरेका काममा सरकार मौन बसिदिँदा मनलाग्दी बढेको अभिभावक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले बताउनुभयो । अहिले पढिरहेको कक्षाको अन्तिम नतिजा नै नआई अर्को कक्षामा भर्नाको आधार नहुने भएकोले सरकारले कडाइ गर्नुपर्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया