काठमाण्डौ महानगरमा कुष्ठरोगका एक सय १० जना बिरामी भेटिए

 फागुन २५, २०८० शुक्रबार १५:१९:१९ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ — काठमाण्डौ महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी भेटिएका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियाेलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०७९/८० मा महानगरभित्र मात्रै एक सय १० कुष्ठरोगका बिरामी भेटिएका हुन् ।

महानगरभित्र कुष्ठरोगका बिरामी फेला परेपछि गैरसरकारी संस्था एनएलआर नेपालले महानगर र स्वास्थ्य सेवा विभागअन्तर्गत शाखाको सहकार्यमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेवकलाई ‘कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता समावेशी सम्बन्धी’ क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा यससम्बन्धी पाठ्यक्रम निर्माण गरी कुष्ठरोग के हो ? कुष्ठरोगले मानिसलाई कसरी अपाङ्गता बनाउँछ ? निदान कसरी गर्न सकिन्छ ? यो रोग लागिहालेमा कसरी औषधि सेवन गर्नेलगायत जानकारी दिइने एनएलआर नेपालका कार्यकारी निर्देशक विकासमान सिंहले जानकारी दिनुभयो ।

कुष्ठरोग समयमै पहिचान गर्नसके औषधि सेवनबाट निको हुने उहाँको भनाइ छ । संस्थाले बिहीवार काठमाण्डाै महानगरपालिका–२६ मा कार्यक्रम सञ्चालन गरेको थियो । ‘कुष्ठरोग आँखाले देख्न नसकिने 'माइकोब्याक्टेरियम लेप्रे' नामक सुक्ष्म कीटाणुबाट लाग्ने, ज्यादै कम सर्ने रोग हो । उपचार नगरेका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासका माध्यमबाट यो रोग सर्ने गरेको पाइन्छ’, निर्देशक सिंहले भन्नुभयो ।

एनएलआरले अहिलेसम्म काठमाण्डाै महानगरपालिका वडा नम्बर–१०, ११, २६, २९ र ३१ का जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई यससम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिसकेको छ । आउँदा दिनमा वडा नम्बर–६, ७, ८, ९ र १७ वडामा कार्यक्रम सञ्चालन गरिने सिंहले बताउनुभयो । 

कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डाक्टर प्रशन्न नापितले आर्थिक वर्ष २०७९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी भेटिएका जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा नौ सय ४४ रहेका छन् ।

एनएलआरले पहिलो चरणमा काठमाण्डौका विभिन्न १० वडाका तीन सयभन्दा बढी जनप्रतिनिधि, स्वास्थ्य कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिने जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया