गण्डकीका २९ ठाउँमा चक्लाबन्दी खेती, वर्षाैँसम्म बाँझिएको जग्गामा व्यावसायिक कृषि उत्पादन शुरु

 फागुन २५, २०८० शुक्रबार १८:१४:२५ | रासस
unn.prixa.net

फाइल तस्बिर

कास्की — व्यावसायिक कृषि उत्पादनका लागि गण्डकी प्रदेशका छ वटा जिल्लाका २९ ठाउँमा जग्गा चक्लाबन्दी गरिएको छ । प्रदेश सरकार स्थापना भएयता कुल पाँच हजार चार सय ९६ खेतीयोग्य भूमिको चक्लाबन्दी गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको भूमि स्रोत नक्साङ्क महाशाखाका प्रमुख गङ्गालाल पोखरेलले कास्की, तनहुँ, बाग्लुङ, मुस्ताङ, स्याङ्जा र नवलपुरमा चक्लाबन्दी खेती शुरु गरिएको जानकारी दिनुभयो । गएको आर्थिक वर्षमा तनहुँ र नवलपुमा गरी पाँच सय ३२ रोपनी जग्गालाई चक्लाबन्दी गरिएकोमा चालु आर्थिक वर्षमा लमजुङ र गोरखाको पाँच सय रोपनीमा कार्यक्रम शुरु गरिने उहाँले बताउनुभयो ।

महाशाखाका प्रमुख पोखरेलका अनुसार लमजुङ र गोरखामा जग्गा चक्लाबन्दीका लागि ठाउँ छनोट हुन बाँकी छ । कार्यविधि बनाएर आउँदो वर्षदेखि यो कार्यक्रम पालिकालाई हस्तान्तरण गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । चक्लाबन्दी गरिएको जग्गामा उत्पादन र उत्पादकत्व वृद्धि गर्न १० वटा समूह/सहकारीलाई यन्त्र, उपकरण खरिदमा समेत सहयोग गरेको पोखरेलले जानकारी दिनुभयो ।

मन्त्रालयले बर्सेनि चक्लाबन्दी कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको योजना तथा अनुगमन महाशाखाका वरिष्ठ कृषि अर्थविज्ञ भानुभक्त भट्टराईले बताउनुभयो । चक्लाबन्दी गरिएको जग्गामा अन्नबाली, तरकारी, फलफूललगायतका खेती भइरहेको छ । यो कार्यक्रम शुरु भएपछि व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढेको छ ।

बाग्लुङको गलकोट नगरपालिका–४ निलुवामा चक्लाबन्दी खेती गर्दै आएको सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष चिन्तामणि शर्माले मन्त्रालयले खेती विस्तार, सिँचाइलगायतमा किसानलाई सघाउनुपर्ने बताउनुभयो । वर्षाैँसम्म बाँझो रहेको निलुवाको जग्गालाई चक्लाबन्दीपछि व्यावसायिक कृषि उत्पादन शुरु भइसकेको छ ।

निलुवामा आलु, केराउ, सिमीलगायत तरकारीजन्य बालीको खेती हुँदै आएको सहकारीले जनाएको छ । सहकारीले प्रतिरोपनी वार्षिक दुई हजार रुपैयाँ तिर्नेगरी २०९० सालसम्मलाई जग्गा भाडामा लिएर चक्लाबन्दी खेती शुरु गरेको हो । खेती गर्न छाडेपछि बाँझो रहेको जग्गामा यो कार्यक्रम शुरु भएपछि जग्गाधनी किसान पनि खुसी छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया