आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने, यस्तो छ प्रक्रिया

 पुस १७, २०७७ शुक्रबार १०:३७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सकिने भएको छ ।

अनलाइनमार्फत घरमै बसेर वा विदेशबाटै पुनः श्रम स्वीकृति लिन सकिने वैदेशिक रोजगार विभागले जनाएको छ । एक पटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक्स अर्थात आँखाको स्क्यान वा औंठाछापको स्क्यान गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सक्नेछन् ।

अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेबसाइट  www.dpfe.gov.np​ मा गएर अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ । श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोबाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ ।

त्यसकारण फारम भर्दा आफ्नो मोबाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नुपर्छ । साथै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको यूजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्छ । श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफइआइएमएसको यूजर अकाउण्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ ।

तपाईँ आफैँले आवश्यकताअनुसार त्यसलाई प्रिन्ट गर्न सक्नुहुन्छ । पुनः श्रम स्वीकृति लिँदा म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइनमार्फत नै तिर्न सकिन्छ । यसरी अनलाइनमार्फत तिर्दा कुनै शुल्क लाग्दैन ।  ईसेवा फोन पे प्रालि, स्प्यारो पे प्रालिबाट रकम तिर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

अनलाइनमार्फत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी जीवन बीमा जारी गर्छ । अबदेखि पुनः श्रम स्वीकृति लिन विभागको कुनै पनि कार्यालयमा कोही पनि श्रमिक जानुपर्ने भएकाले श्रमिकलाई यसबाट पुनः श्रम लिन थप सहज हुने विभागले जनाएको छ । तर पुनः श्रम स्वीकृति लिन अनलाइन सेवाको आधिकारिक प्रयोग गर्न विभागले अनुरोध समेत गरेको छ ।

1 Comments

  • Keshab Gautam

    Jan. 3, 2021, 7:44 a.m.

    नयाँ कम्पनिमा जान चाहनेले पनि अनलाइनमाफर्त श्रम स्वीकृति लिन पाउने व्यवस्था हो या बिदामा आएकाहरुका लागि मात्र यो सुविधा हो, प्रश्ट पारिदिनुहोला 🇳🇵🙏🇳🇵

तपाईको प्रतिक्रिया