प्रदूषणले कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित

 मंसिर २५, २०७५ मंगलबार ९:७:२२ | रासस
unn.prixa.net

म्याग्दी – वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुका साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ । 

तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको वहाबमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमीन कमजोर बन्दै गएको छ । उद्योग तथा कलकारखानाबाट निस्कने फोहरमैला, रसायनयुक्त पानी र अनियन्त्रित रूपमा ढल मिसाउनेजस्ता गलत मानवीय कारणले गर्दा कालीगण्डकी नदीको पानी अत्यधिक प्रदूषित बन्न गई पर्यावरणीय दृष्टिकोणले यो नदीको अस्तित्व खतरामा पर्दै जान थालेको हो । 

दामोदरकुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बागलुङ, पर्वतको कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रशस्तै जैविक तथा औधोगिक फोहरमैला थुप्रिने गर्दछ । हिन्दू धर्मावलम्बीहरुका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्था र विश्वास बोकेको यो नदीलाई शालीग्राम पाइने विश्वकै एकमात्र नदीको रूपमा लिने गरिन्छ । 

धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण एवं वातावरणीय हिसाबले संवेदनशील नदी हेर्दाहर्दै कुरुप एवं मित्र जीवको सट्टा हानीकारक शत्रु जीवको उर्वर बासस्थानका साथै प्रदूषणको स्रोत बन्न पुगेको वातावरण संरक्षणका अभियन्ता चन्द्रमणि सापकोटाले बताउनुभयो । 

हिन्दू धर्मावलम्बीले भगवान विष्णुको अङ्शका रूपमा पूजा आराधना गर्ने र विश्वमै दुर्लभ शालिग्राम शिला पाइने विश्वको एकमात्र नदी कालीगण्डकीलाई प्रदूषणको चपेटाबाट मुक्त गर्न ‘कालीगण्डकी बचाउ’ अभियानमा सबै सक्रिय हुनुपर्ने धारणा वातावरणविद्को छ । 

हिमालयबाट हिउँ पग्लेर मुक्तिनाथको स्पर्श गर्दै विभिन्न खोला समेटेर बग्दै आएको कालीगण्डकी बढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण मानवीय र प्राकृतिक दुवैतर्फबाट प्रदूषित बन्दै गएको छ । 

प्रकृतिमा देखिएका असामयिक परिवर्तन र मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित बनेको सरोकारवालाले बताएका छन् । यसले गर्दा नदीको अस्तित्वसमेत खतरामा परेको वातावरणविद्को भनाई छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया