सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
कञ्चनपुर – वाणी मुक्तकमैया शिविरका बिप्टी चौधरीले घर खर्च चलाउन बस्ती छेउमै रहेको मछेली नदीमा बालुवा छान्न थालेको दशक बितिसक्यो ।
विसं २०५८ मा कमैयाबाट मुक्त भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी शिविरमा आउनुभएकी उहाँ र उहाँको परिवारलाई गर्जो टार्न अझै पनि मजदूरी गर्नुको विकल्प छैन ।“हिउँदका बेला नदीमा दिनभरि कडा परिश्रम गरेर बालुवा, गिट्टीसित सङ्घर्ष गर्दै आएको छु, मजदूरी नगरे त एक छाक टार्न पनि मुश्किल पर्छ”, बिप्टीले भन्नुभयो, “दैनिक ५०० जति कमाइ हुन्छ, त्यसले घरको नून/तेल खर्च चलाएकी छु ।”
चौधरीका छोरा र श्रीमान् पनि मजदूरी गरेर परिवारको खर्च जुटाउन त्यसैमा लागिपरेका छन् । “सरकारले कमैयाबाट ल्याएर ओत लाग्ने ठाउँ त दियो ।” उहाँको गुनासो थियोे, “नदीको बगरमा दिएको पाँच कट्ठा जमीनमा उब्जनी नहुँदा कामै लागेन ।” स्थानीय चन्द्रलाल चौधरीले कमैयाबाट मुक्त हुँदा पाएको जमीन वर्षौंदेखि बाँझै छ । “यो खेतमा नत तरकारी न अन्नबाली नै फल्छ”, उहाँले भन्नुभयो, “अहिले त खेतमा जानै छोडिसक्यौँ ।”
पाँच सय ६८ परिवार मुक्तकमैया रहेको उक्त शिविरमा करीब १५० परिवारको खेत बलौटे हुँदा उब्जनी नहुने समस्या छ । “पहिले कमैया बसेर दुःख गर्याैँ” उहाँले भन्नुभयो, “अहिले मजदूरी गरेर भोक मार्दै छौँ ।” डेढ दशक कमैया बसेका उनीहरूमा पुनःस्थापनाको लामो समय बितिसक्दा पनि मुक्तकमैयाको अवस्थामा सुधार नभएकाले बस्तीका युवा रोजगारीका लागि पलायन भएका छन् ।
“नदीमा आएको बाढी गाउँ पस्दा पूरै खेतमा बालुवा जमेको र बस्ती समेत कटान गरेको छ”, शिविरका भूमिलाल चौधरीले भन्नुभयो, “दिगो व्यवस्थापनमा ध्यान नदिँदा फेरि कमैया बस्नुपर्ने अवस्था आउँदैछ ।” बस्ती बचाउन यहाँको मछेली नदीमा तटबन्ध निर्माणका लागि पहल गरिदिन उहाँले आग्रह पनि गर्नुभयो ।
शिविरका अधिकांश परिवारले अझै पनि अरुको जमीन अधियामा लिएर जीविका चलाइरहेका छन् । “विसं २०६४ मा आएको बाढीले खेतभरि बालुवाभरि दियो ।” स्थानीयवासी जमुना चौधरीले भन्नुभयो, “हामीले घरखर्च चलाउन अझै दुःख सहनुपरेको छ ।”
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।