काङ्ग्रेस बैठकद्वारा तीन प्रस्ताव पारित

 मंसिर २९, २०७५ शनिबार ७:२:५२ | रासस
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको महासमिति बैठकमा पेश हुने तीन प्रस्ताव पारित गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले राजनीतिक, साङ्गठनिक र आन्तरिक आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । 

यही मङ्सिर ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशाङ्क कोइरालाले साङ्गठनिक, अर्का महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । 

समग्र आर्थिक नीतिसम्बन्धी प्रस्ताव यसअघि नै पारित भइसकेको छ भने विधान संशोधनसम्बन्धी प्रस्तावमा अझै सहमति हुन सकेको छैन । शुक्रबारदेखि शुरु भई पुस ३ गतेसम्म चल्ने काङ्ग्रेसको महासमिति बैठकको उद्घाटन शनिबार हुनेछ । काङ्ग्रेसले संविधानको सङ्घीयता संरचनाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महासमिति बैठक बोलाएको हो । 

बैठकले उपसभापति विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम पार्टीसँग एकीकरणका बेला भएको सहमतिअनुसार याे पार्टीका २०० जनालाई महासमिति सदस्य र १५० जना पर्यवेक्षक दिने निर्णयसमेत गरेको केन्द्रीय सदस्य यादवले जानकारी दिनुभयो । 

बैठकमा सभापति शेरबहादुर देउवाले विधान संशोधनमा देखिएको विवाद सहमतिका साथ टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । महासमिति बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुनेछन् । 
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया