नेपाली क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने

 पुष १९, २०७५ बिहीबार १४:१५:३७ | रासस

काठमाडौं - विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक राष्ट्रिय खेलकुद परिषद् राखेपको विशेष पहलमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । 

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघ -  क्यानमा देखिएको विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् - आइसिसी ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो ।

राखेपका सदस्य सचिव केशवकुमार विष्टले परिषदको पहलमा आइसिसीले राखेपमार्फत सन् २०१७ र २०१८ खेलाडी वर्गीकरणअनुसार पाउने तलब उपलब्ध गराउने सहमति भएको बताउनुभयो । 

‘हामीले आईसीसीसँग पहल गर्‍यौँ , उ पनि पैसा दिन सहमत भयो, अहिले हामीले खेलाडीसँग सम्झौता गरेर आईसीसीमा पठाएका छौँ, वर्गीकरणभित्र परेका खेलाडीले केही साताभित्र तलब बापतको पैसा पाउनेछन्’, उहाँले भन्नुभयो । 

विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिना नै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । साथै नेपाली क्रिकेटको सबै व्यवस्थापकीय पक्ष आईसीसीले नै हेर्दै आएको छ । 

तलबका विषयमा आईसीसीले राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा तलब दिन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । 

खेलाडी तथा परिषद्को आग्रहपछि आईसीसी तलब दिनका लागि राजी भएको हो । यसका लागि आईसीसीले तलब दिने खेलाडीलाई ए, बी र सी गरी तीन तहमा वर्गीकरणसमेत गरेको छ ।

‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु २५ र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाउनेछन् । 

त्यसमध्ये ‘ए’ श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, र दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

श्रेणी ‘बी’ मा रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह र शक्ति गौचन रहेका छन् । श्रेणी ‘सी’ मा सुशन भारी, किशोर महतो, सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनील धमला र विनोद भण्डारी रहेका छन् । 

‘ए’ श्रेणीका खेलाडीले पछिल्लो दुई वर्षको एकमुष्ट रु आठ लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले रु छ लाख र ‘सी’ श्रेणीका खेलाडीले रु तीन लाख ६० हजार प्राप्त गर्नेछन् । 

आईसीसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया