डडेल्धुरामा जातीय विभेदका घटना बढ्दाे, तर उजुरी गर्दैनन् पीडितहरु

 पुष २१, २०७५ शनिबार १६:०:११ | रासस
unn.prixa.net

डडेल्धुरा - डडेल्धुरा जिल्लामा पहिलेभन्दा जातीय विभेदका घटनामा अझ वृद्धि हुँदै आएको छ ।

प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ग्रामीण क्षेत्रका दलित समुदायमा दैनिकजसो विभेदको घटना भए पनि खुलेरै सम्बन्धित निकायमा उजुरी गर्ने आँट गर्न नसक्दा यस्ता घटनाले प्रश्रय पाइरहेको छ ।

वर्षौदेखि कथित ठूलो जातका अधिनमा बसेका दलित समुदाय छुवाछुतविरुद्धका कुरा उठाए गाउँ नै छोडेर जानुपर्ने समस्याले पनि जिल्लामा विभेदका घट्ना बाहिर आउन नसकेको दलित अगुवाहरुको भनाइ छ । 

पिउने पानी तथा मसानघाट र ग्रामीणस्तरका होटलमासमेत अहिलेसम्म सँगै बस्न, खान र काम गर्नसमेत आफूहरू वञ्चित हुँदै आएको उनीहरूको गुनासो छ ।

विभेद अन्त्य गर्न समुदायमा सचेतना बढाउनाका साथै दलितको क्षमता विकासमा समेत ध्यान दिनु जरुरी रहेको दलित अगुवा लक्ष्मी कामीकोे भनाइ छ ।

नेपाल जातीय छुवाछुमुक्त राष्ट्र घोषण भएको १२ वर्ष पूरा भइसकेकाे छ । साथै जातीय भेदभाव कसूर ऐन २०६८ परित भई कार्यान्वयनमा आइसकेको छ, तर पनि यस्ता घटनामा केही कमी आए पनि निराकरण भने हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डम्बरबहादुर केसी बताउनुहुन्छ ।

उहाँका अनुसार जिल्लामा २०६४ साल यता जातीय भेदभावसम्बन्धी केही उजुरी दर्ता भए पनि एउटै मात्र मुद्दा अदालतसम्म पुगेर फैसला भएको छ । 

तीन वर्षयता जातीय छुवाछुतको उजुरी उक्त कार्यालयमा परेको छैन । सदरमुकाममा केही परिर्वतन भए पनि ग्रामीण क्षेत्रमा भने छुवाछुत यथावत रहेको र यस्ता विवाद ग्रामीण क्षेत्रमै मिलाइने तथा लुकाएर राखिने गरेको नेकपाका दलित नेता सोनलाल दमाइँ सुन्दर बताउनुहुन्छ ।

यसैगरी नेपाली कांग्रेसकाे भातृ सङ्गठन नेपाल दलित सङ्घ डडेल्धुराका जिल्ला अध्यक्ष सन्तोष जैरु छुवाछुतमुक्त राष्ट्र घोषणा भए पनि जहिलेसम्म दलित समुदाय आर्थिक अवस्थाबाट माथि उठ्न सक्दैनन् तबसम्म विभेद कायमै हुने उल्लेख गर्नुहुन्छ । 
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया