चीनले फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसामुक्...
मंसिर ७, २०८१ शुक्रबार
केही दिन अघिको कुरा हो । केही पत्रकार साथीहरुको भेटघाट थियो । सानो चिया पान कार्यक्रम । गफैगफमा एकजना साथीले भने ‘नसक्ने पार्टीको के छ खबर हिजोआज ?’ अर्को साथीले जवाफ दिए, ‘के हुनु बाबुराम नसक्ने पसल रुँगेर बसिराखेका छन्, फाट्टफुट्ट ट्वीटरमा भेटिन्छन् हिजोआज ।’
मैले बाँकी कुरामा त खासै ध्यान दिइनँ, तर त्यो ‘नशक्ने’ भन्ने शब्दले भने मलाई एकछिन मज्जाले घुमायो । कुरा सकिन नपाउँदै मैले सोधें, ‘बाँकी त ठीकै छ तर यो नसक्ने भनेको चाहिँ के हो नि ?’
साथीले जवाफ दिए, ‘नयाँ शक्ति नेपाल ।’
अब मेरो दिमागमा ती दुईओटै शब्दहरु घुम्न थाले नयाँशक्ति नेपालको छोटो रुप अर्थात ‘नशक्ने’ ।
समय धेरै पनि बितेको छैन, डा. बाबुराम भट्टराईले निकै तामझामका साथ दशरथ रंगशालाबाट नयाँ शक्ति नेपालको घोषणा गरेको । केही दिन बाबुराम र नयाँशक्ति नेपाल आम नेपालीदेखि लिएर धुरन्धर राजनीतिज्ञ विश्लेषकहरुका बहसको निम्ति गतिलै मसला बन्यो ।
तर निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी समेत बनाउन नसकेपछि र सुरुमा सँगै यात्रा सुरु गरेका केन्द्रीय नेताहरु नै उहाँमाथि अनेकन आरोप लगाउँदै एकएक गर्दै पार्टी छोडेपछि भने पार्टीको आकार सीमित हुन पुग्यो ।
पछिल्लो समय बाबुराम र उहाँको पार्टी राजनीतिक चर्चा र पर्चा दुबैबाट टाढा जस्तै देखिन्छ, फाट्टफुट्ट ट्वीटर र फेसबुक बाहेक ।
शुक्रबार दिउँसोतिर केही केन्द्रीय सदस्यहरुसहित उज्ज्वल थापा नयाँ दल दर्ता गर्न भन्दै निर्वाचन आयोग गएको खबर बाहिर आएपछि एकाएक सामाजिक सञ्जाल तात्यो ।
सबैजसो अनलाइन र रेडियोहरुमा यो समाचारले ठाउँ पायो । रवीन्द्र मिश्रले विधान विपरित काम गरेको, आफूखुशी पदाधिकारी छनोट गरेको र अपारदर्शी र अलोकतान्त्रिक तरिकाले अगाडि बढेकोले अर्को पार्टी दर्ता गर्न बाध्य भएको अभिब्यक्ति थापा पक्षधर केन्द्रीय नेताहरुले दिइरहेका छन् भने अर्कोतिर उज्ज्वल थापाको कदम ठीक नभएको र सजिलै सुल्झिन सक्ने विषयलाई अनावश्यक रुपमा ठूलो बनाएको मिश्र पक्षधर नेताहरुको आरोप छ ।
यद्यपि यो आरोप प्रत्यारोपबीच रवीन्द्र साझा हुन सकेनन् वा उज्ज्वलले विवेक गुमाए ? यो प्रश्न अझै अनुत्तरित छ ।
२०७१ सालदेखि सामाजिक सेवामार्फत र विशेषगरी २०७२ को भूकम्पको बेलादेखि अलि अलि हाइलाइटमा आएका उज्ज्वल थापाले ‘स्माइली’ चिन्हसहितको विवेकशील नेपाली दल खोले ।
स्थानीय तहको चुनावमा काठमाण्डौ महानगरको मेयरमा कम उमेरकी उम्मेदवार रञ्जु दर्शनालाई उठाएर चर्चामा आएपछि भने यो दल र विशेष गरी रञ्जुको निकै चर्चा पनि भयो । अर्कोतिर बीबीसीको जागिर छोडेर वैकल्पिक राजनीतिका लागि भन्दै एक्कासि हाम्फालेका रवीन्द्र मिश्रले उनकै शब्दमा एक्काइसौँ शताब्दीको आवश्यकता अनुसारको वैकल्पिक राजनीतिको यात्रा सुरु गरे ।
स्थानीय चुनावमा विशेष गरी काठमाण्डौ महानगरमा छुट्टाछुट्टै ब्यानरमा भोट मागेका मिश्रको पार्टीबाट उठेका किशोर थापा र उज्वल थापाको पार्टीबाट उठेकी रञ्जु दर्शनाले जित हासिल गर्न नसके पनि राष्ट्रिय र ठूला भनिएका पार्टीहरुलाई नै प्रभाव पार्ने गरी जनमत हासिल गर्यो ।
केही समयपछि अर्थात प्रतिनिधि र प्रदेशसभाकाे चुनावअघि एकाएक मिश्रको साझा पार्टी र थापाको विवेकशील नेपाली दल एक भएको घोषणा गरे । चुनाव पनि लडे तीन नम्बर प्रदेशमा एक सिट जिते भने काठमाण्डौ १ बाट चुनाव लडेका मिश्रले चुनाव नजिते पनि प्रतिस्पर्धी भोट ल्याउन सफल भए ।
सुरुदेखि नै पार्टीभित्र बीउको रुपमा रहेका सानातिना विवाद राष्ट्रियसभा सदस्यको लागि नेपाली कांग्रेसका राधेश्याम अधिकारीलाई सहयोग गर्ने घोषणा गरेपछि भने छताछुल्ल भएको विवेकशील नेपाली दल पक्षका केही नेताहरु बताउँछन् । केही केन्द्रीय सदस्यहरुले त त्यतिबेलै सामाजिक सञ्जालमा खुलेरै बिरोध गरे पनि मिश्र केही समय लगाएरै भए पनि यो विवाद थामथुम पार्न सफल भए ।
यो विवाद यतिमै सीमित भएन, त्यसपछि बिभिन्न ठाउँमा पदाधिकारी घोषणा कार्यक्रमहरुमा पनि रवीन्द्र मिश्र र सूर्यराज आचार्यहरुले एकलौटी छनोट गरेका भन्दै बहस र हात हालाहालकै स्थिति सिर्जना भयो । र अन्तमा त्यो विवादले दुई पार्टीलाई दुई कित्तामा उभ्याइदियो ।
जे होस् पार्टीको नाम, नारा र भाषणमा नयाँ, नौलो, विकल्प वा वैकल्पिक जे–जे शक्ति भने पनि यी सारा घटनाहरुले नेपाली नागरिक, राजनीति र राजनीतिक वृत्तमा राजनीतिलाई नयाँ सिराबाट सोच्ने यसलाई पद, पेसा र आफ्नो हद लाद्नेभन्दा माथि राखेर विश्लेषण गर्ने क्षमता विकास भएको रहेनछ भन्ने स्पष्ट हुन्छ ।
राजनीतिलाई व्यक्तिगत विचार लाद्ने क्लब, आफ्नो पद र प्रतिष्ठा प्राप्त गर्ने छोटो बाटो र त्यही पुरानै खुइलिएको ढर्रायुक्त सोच बोकेर विकल्प बन्न सकिंदैन भन्ने कुरा सबैले हेक्का राखून् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।