कीर्तिपुरको ‘संघर्षपुर’ पाँगा चोक अर्थात् मिनी नेपाल

 माघ १७, २०७५ बिहिबार १२:४७:९ | जानुका दुवाडी
unn.prixa.net

चुनाव प्रचार–प्रसारको क्रममा कीर्तिपुरमा भएको आमसभामा पूर्व मन्त्रीसमेत रहेका एउटा पार्टीका केन्द्रीय नेताले विगतको स्मरण गर्दै त्यही चोकमा किनेर खाएको बन्दा र आफू बसेको कोठा सम्झिए । त्यस्तै पूर्व उप–प्रधानमन्त्रीसमेत रहेका अर्का पार्टीका अर्का नेताले आफ्नो राजनीतिक यात्रा त्यही माटोबाट थालनी गरेको स्मरण गरे । 

यी दुई त प्रतिनिधि पात्र मात्र हुन् । यसबाहेक पनि सयौँ अर्थात् भनौँ हजारौँ युवाको सपना र भविष्यको विजारोपण भएको र हुने ठाउँ हो कीर्तिपुर ।

अहिले देशको राजनीतिक नेतृत्वमा रहेकादेखि लिएर प्रशासनिक नेतृत्वमा रहेका हुन् वा विभिन्न क्याम्पस/विद्यालयहरुका शिक्षक/प्राध्यापक तथा संस्थाहरुका हाकिमहरु हुन् वा अरु नै कुनै क्षेत्रमा लागेका धेरैले कीर्तिपुरको माटो टेकेको तीतो मीठो अनुभव बोकेका छन् । योबाहेक भोलिको देशको हरेक क्षेत्रको नेतृत्व लिने धेरैजसो युवाहरुको संघर्षको वर्तमान पनि हो यो सानो शहर हो कीर्तिपुर ।

कीर्तिपुर भन्ने बितिक्कै फरक–फरक मान्छेको आँखामा फरक–फरक तस्बिरहरु आउन सक्छ । कसैले नेपालको इतिहास सम्झिएलान् । आँखामा इतिहासको तस्बिर आउला । इतिहासमा सुनेका र पढेका कथाहरु आउलान् । यो शब्दले केहीको मानस पटलमा नेवारी संस्कृतिको सम्झना आउला भने कसैले नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय सम्झेलान् ।

यो त कीर्तिपुरको अलि पुरानो र प्रचलनमा रहेका परिभाषा हुन् । कीर्तिपुरका योभन्दा पनि देखे भोगेका र लुकेका कैयाैँ परिभाषाहरु छन् । जुन परिभाषाहरुले उच्च शिक्षादेखि लिएर राम्रो जागिरको सपनाका नाङ्लाहरुले डोर्याएका संघर्ष पथका कथाहरु बोकेका छन् ।

पाँगा दोबाटो अर्थात मिनी नेपाल

कीर्तिपुर नगएका मान्छेलाई यो पाँगा दोबाटो भन्ने थाहा नहुन सक्छ । पहिले पाँगा दोबाटो भनेको स्पष्ट हुन जरुरी छ । पाँगा दोबाटो अर्थात कीर्तिपुरको त्यस्तो चोक हो, जुन चोकको तरकारी खाएर हजाराैँ मान्छेहरु आज ताप्लेजुङदेखि दार्चुलासम्म, घरदेखि सिंहदरबारसम्मको सरकारी नेतृत्व गरिरहेका छन् ।

भोलि देशको नेता बन्न चन्दाको ठेली बोकिरहेकादेखि पढाइ र जागिरको तयारी गर्दै बन्दाको झोला बोकिरहेकासम्मका युवाहरु भेटिने समावेशी चोक हो पाँगा दोबाटो । पाँगा दोबाटो चोकमा गएर जो कोहीलाई सोधे पनि अधिकांश स्नातक वा त्योभन्दा माथि पढ्दै गरेका युवा भेटिन्छन् ।

यो चोकमा हिँड्ने हरेक अनुहारमा संघर्ष भेटिन्छ, जोश भेटिन्छ र केही गर्ने अठोट भेटिन्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र दक्षिणको पर्सादेखि उत्तरको सोलुखुम्बुसम्मका युवाहरु भेटिन्छन । बेलुकीतिर चोकमा गएर परिचय गर्दा जापान जाने तयारीमा लागेको जयबहादुरदेखि लिएर कोरिया जान लागेको कर्णबहादुर होस् वा मास्टर्स गर्न लागेको मानबहादुरदेखि सरकारी तयारीमा लागेका सयौं आशाबहादुरहरु यही  चोकमा भेटिन्छन् ।

पाँगा दोबाटो अर्थात सयौँ युवाहरुको आशाको दोबाटो । पाँगा दोबाटो अर्थात मिनी नेपाल ।

कीर्तिपुरको पानी जात्रा 

कीर्तिपुरमा बागभैरव जात्रा, नगाउँ जात्रा इत्यादि जात्राहरु त संस्कृतिले दिएका जात्राहरु हुन् । जसले यहाँको नेवार संस्कृति, रहनसहन र इतिहासलाई प्रतिबिम्बित गर्छन् । तर यहाँ एउटा अर्को बाध्यताको रोचक जात्रा छ, पानी जात्रा । जसले यहाँको नेतृत्वको अदूरदर्शिता र अकर्मण्यतालाई प्रतिबिम्बित गर्दछ । यो रोचक यस मानेमा कि यो ठाउँ वरिपरि प्रशस्त पानीका मुहानहरु भए पनि यहाँ बस्ने मानिस हरेक दिन पानी जात्रा मनाउन बाध्य छन् । जात्राको निम्ति तिथि मिति नै नचाहिने वर्षैभरि बिहान, बेलुकी  र आधा रातसम्म भइराख्ने जात्रा हो यो । 

हुन त यस्ता पानी जात्रा जलस्रोतको हिसाबले विश्वमै दोस्रो धनी देश नेपालमा सबैतिर भैरहेकै हुन्छन् । तर कीर्तिपुरको पानी जात्रा भने विशेष छ । दिनभरिको काम सकाएर थाकेका स्थानीयदेखि लिएर विश्वविद्यालयबाट फर्केका विद्यार्थीहरु र जागिरबाट फर्केका जागिरे सबैको भेट हुने ठाउँ हो, यो जात्रा । दिनभरिको सबै काम सकियो भनेपछि एउटा काम फेरि पनि बाँकी नै हुन्छ, त्यो हो पानीको रित्तो भाडो समातेर पानी थाप्न जानु । राजनीतिकदेखि अराजनीतिक गफ र खाली भाँडाहरुको तानातान र पेलापेलको शक्ति संघर्षको अभ्यास हुन्छ यो जात्रामा । 

फरक भाषा संस्कृति र फरक रीतिरिवाज तथा शक्ति र शासनको संघर्षको कारण इतिहासमा चिरपरिचित कीर्तिपुर सयौँ युवाहरुको भविष्यको खोजीको संघर्षस्थलको कारण आज पनि त्यतिक्कै परिचित छ । ज्ञान र अनुभवले सिञ्चित गरी भावी जीवनका फाँटहरु सुन्दर बनाउन जीवनको पूर्वार्द्ध को आलीमा संघर्षको हलोधारी युवाहरुको बासस्थान कीर्तिपुरले साँचिक्कै सिंगो देशको झझल्को दिन्छ । 


 

अन्तिम अपडेट: चैत ५, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • Shrawan

    Feb. 1, 2019, 6:14 p.m.

    एकदम सही लेख्नुभयो ...मनमा नआएको तर साँचो कुराको उजागर स्पस्ट रुपमा गर्नुभएको छ , धन्यवाद /

  •  0 Reply

तपाईको प्रतिक्रिया