प्रदेश ३ का मुख्यमन्त्री पौडेलले प्रदेश २ का मुख्यमन्त्री राउतलाई दिए एक कराेडकाे चेक

 बैशाख ४, २०७६ बुधबार १४:४६:२० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गर्नुभएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले बुधबार मध्यान्ह प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गर्नुभएको हो । गएको चैत १९ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए ।

हावाहुरीबाट प्रदेश २ को बारा र पर्सा जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रदेश ३ सरकारले राहतस्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गर्नुभएकोमा प्रदेश ३ का मुख्यमन्त्री र प्रदेश सभालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्ने सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

विपतमा आ-आफ्नो स्थानबाट एकअर्कालाई सहयोग गर्नुपर्ने संदेश मुख्यमन्त्री पौडेलले दिनुभएको छ । यसअघि प्रदेश ३ का मुख्यमन्त्री पौडेल  बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण पनि गर्नुभएको थियो ।

प्रदेश ३ का सांसदहरुको तीन दिनको तलब बराबर चार लाख ६९ हजार ५० रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गरेको छ । बैंकमा जम्मा गरेको भौचर प्रदेश ३ की उपसभामुख राधिका तामाङले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गर्नुभएको थियो ।

मुख्यमन्त्री पौडेलसँगै उपसभामुख तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रमेश सिवाकोटी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल किशोर झा, प्रदेश २ का मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कोमल खत्रीलगायतको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया