कुलतमा लागेका पतिले पत्नीलाई मट्टीतेल छर्केर जलाए

 बैशाख ९, २०७६ सोमबार २०:१०:४६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - धनुषामा एक नवविवाहितालाई पतिले मट्टीतेल जिउमा खन्याएर जलाएका छन् ।

धनुषाको शहीदनगर नगरपालिका-१, पुरवारी टोल चिरैयाका २४ वर्षीय मुकेश गोइत यादवले पत्नी २० वर्षकी निर्मला यादवलाई जिउमा मट्टीतेल खन्याएर आगो लगाएका हुन् । गएकाे वैशाख ५ गते दिउँसो घरमा कोही नभएको मौकाछोपी पति मुकेशले निर्मलाको हातखुट्टा बाँधेर जिउमा मट्टीतेल खन्याई आगो लगाका थिए ।

आगोबाट निर्मलकाको शरीरको ७० प्रतिशत भागको छाला जलेर उनी गम्भीर घाइते भएकी छन् । घटनापछि गम्भीर घाइते निर्मलालाई जनकपुर अञ्चल अस्पतलामा भर्ना गरिएको थियो । यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ लगिएकाे छ ।

निर्मलाको १० महिनाअघि मात्र सामाजिक परम्परा अनुसार विवाह भएको थियो । २०७५ असार १८ गतेको दिन निर्मला र मुकेशको विवाह भएको थियो ।

मुकेश लागुपदार्थ तथा मादक पदार्थ सेवन कुलतका शिकार हुन् । घरमा कोही नभएको मौका छोपी मुकेशले कुटपिट गर्दै निर्मलाको हातखुट्टा बाँधी बाकसमा रहेको कपडाहरु निकालेर जिउमा राखी मट्टीतेल छर्केर आगो लगाएको निर्मलाका दाइ राकेश यादवले बताउनुभयो ।  

आगो लगाएपछि निर्मला जोडजोडले चिच्याउँदा  छरछिमेकहरुले उद्धार गरेको तर त्यतिबेलासम्म निर्मलाको शरीर अधिकांश भाग जलिसकेको  राकेशले बताउनुभयाे । 

वैशाख ५ गतेको दिन बिहान मुकेश र निर्मलाबीच झगडा भएको र त्यही झोँकमा  निर्मलालाई मट्टीतेल छर्केर आगो लगाइ मार्ने प्रयास गरेको हुन सक्ने स्थानीयहरुको भनाइ छ ।

घटनापश्चात मुकेश फरार भएका छन् । माइती पक्षले छोरी निर्मलालाई हत्या गर्ने प्रयास भएको भन्दै पति मुकेश गोइत यादव, ससुरा  झरी गोइत यादव र सासूमाथि ज्यान मार्ने उद्योगमा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । निर्मलाकी बुबा कामे भुसकुलियाले जाहेरी दर्ता गराउनु भएको हो ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया