मिथिलाकाे उर्वर भूमिकाे सदुपयाेग गर्न राष्ट्रपतिकाे आग्रह

 बैशाख ३०, २०७६ सोमबार १३:१४:५० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिक्षेत्रमा जोड दिए देशको समृद्धिमा लाग्न सबैमा आग्रह गर्नुभएको छ ।

जानकी नवमीको अवसरमा सोमबार बिहान जानकी मन्दिरमा पूजाअर्चनापश्चात सम्बोधन गर्दै उहाँले समृद्धिको लागि कृषिलाई आधुनिकीकरण एवं व्यावसायीकरण गरी मिथिलाको उर्वर भूमिलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

‘विदेहका राजा जनकले कृषिकरण महायज्ञ आयोजन गर्दा सीताको जन्म भई विख्यात भएको यस भूमिले देशको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको  स्मरण गर्दै राष्ट्रपति भण्डारीले अहिले यही भूमिमा कृषि क्षेत्रमा उत्पादनमा कमी आउनु दु:खद रहेको बताउनुभयो ।

‘चुरे क्षेत्रको संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम गरी दिगोग विकासको अवधारणासहित कृषिको आधुनिकीकण एवं व्यवसायीकरण गर्न यस भूमिको प्रचुर उपयोग गर्नु पर्दछ’, राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘यहाँ अवस्थित अपार प्राकृतिक श्रोत र साधनको सदुपयोग गर्दै आर्थिक समृद्धिमा अग्रसर हुन मेरो आग्रह छ ।’

प्रदेश २ सरकारले चलाएको ‘बेटी पढाउ,बेटी बचाउ’ कार्यक्रम प्रभावकारी रुपले अघि बढेकोमा राष्ट्रपति भण्डारीले प्रसंशा समेत गर्नुभयो ।

उहाँलाई त्यस समारोहमा जानकी मन्दिर व्यवस्थापन पक्ष, जनकपुरधाम उपमहानगरपालिका र वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले सम्मानसहित मायाको चिनो समेत प्रदान गरेको छ ।  

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, मुख्यमन्त्री लालाबाबु राउत, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, जानकी मन्दिरका सह-महन्त रामरोशनदास वैष्णवलगायतका सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता थियो ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया