ट्रकले टिप्परलाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो, दुई जना घाइते

 बैशाख ३०, २०७६ सोमबार १६:२९:१९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - महाेत्तरीकाे बर्दिबासमा ट्रक र टिप्परलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा सिन्धुली तीनपाटन नगरपालिका-२ का टिप्पर चालक २४ वर्षीय दिनेश मानन्धर र  सहचालक २४ वर्षीय नवीन मोक्तानकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । चालक र सहचालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।  

महोत्तरी प्रहरीका अनुसार, पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका ४ मा बा ५ ख ४२२२ नम्बरको टिप्परलाई ना ६ ख ३०२० नम्बरको ट्रकले ठक्कर दिएको थियो । पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा टिप्पर बिग्रेपछि रोकेर मर्मत गरिँदै थियाे । टिप्पर बिग्रेर मर्मत गर्दै गरेको अवस्थामा ट्रकले पछाडिबाट ठक्कर दिएको हो ।    

दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा टिप्परमै सवार सिन्धुली तीनपाटन नगरपालिका २ का यात्री ३५ वर्षका रमेश  मानन्धर र मोरङ विराटनगर नगरपालिका १२ का ४२ वर्षीय ट्रक चालक नवराज राउत छन् । 

गम्भीर घाइते भएका राउतलाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।

मृतक दुवैजनाको शवलाई पोष्टमर्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  

 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया