शाकाहारी खानामा होटेलले हड्डीका टुक्रा मिसाएर जन्तीलाई खुवाएपछि झण्डै टुटेन विवाह

 जेठ ३२, २०७६ शनिबार ११:४३:४५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - जनकपुरको मुजेलियामा सञ्चालित होटेल राजदरबारमा शाकाहारी खानामा हड्डीको टुक्रा भेटिएपछि बेहुला र बेहुली पक्षबीच विवाद भएको छ । होटेल राजदरबारको बदमासीले विवाह नै टुट्नेसम्मको अवस्था सिर्जना भएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका-९, थापाचोक निवासी रामबाबु यादवले छोरीको विवाहको सम्पूर्ण व्यवस्थापन ३ लाख ६५ हजार रुपैयाँमा शुक्रबार राति राजदरबार होटेलमा गरेको थियो । विवाहको लागि सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरबाट शिवशंकर यादवका छोराको जन्ती आएको थियो ।

राति १२ बजे बेहुला र बेहुलीबीच स्वयम्बर सकिएपछि बेहुलासहित सबै जन्ती खाना खानको लागि बसे । दुल्हासहित जन्तीका धेरै मानिस शाकाहारी भएकाले पहिले नै होटेलवालालाई भनेर दालभात तरकारीसहित शाकाहारी भोजनको व्यवस्था गरिएको थियो ।

तर जब सबैले थालमा खाना थपेर खाना खान सुरु गरे सबैको खानामा हड्डीको टुक्रा फेला पर्न थाल्यो ।  त्यसमा धेरै वैष्णव कन्ठीधारी जन्तीसमेत भएकाले आफ्नो धर्मकाे अपमान गरेको भन्दै जन्तीहरु खाना छाडेर छोरी पक्षमाथि आक्रमक भए ।

यहाँसम्मकी बेहुलासमेतले विवाहका लागि अस्वीकार गरी राति नै जन्ती फर्किनेसम्मको चेतावनी दिए । ९० प्रतिशत जन्ती राति नै खाना छाडेर आक्रोशित हुँदै विवाह बहिस्कार गरी घर फर्के । तर बेहुली पक्षको हारगुहारपछि बेहुलाका घरपरिवार विवाह गर्न राजी भए । र बेहुला पक्षका केही आफन्तजन मात्र बसे । यसमा होटलवालाको चरम बदमासी भएकाले त्यसको निर्णय पछि गर्ने भन्दै विवाह सम्पन्न भयो ।

राति विवाद भएको बेला वडा प्रहरी कार्यालयकाे प्रहरी टोली त्यहाँ पुगेको थियो । हेटेल व्यवस्थापन पक्षले बिहान ७ बजे छलफल गर्ने समय मिलाएको थियो । तर बिहानदेखि होटेल सञ्चालक मोबाइल स्विच अफ् गरी सम्पर्क बाहिर गएका छन् ।

बेहुलीका बुबा रामबाबु यादवले छोरीको विवाह नै भाँड्ने गरी र धर्मभ्रष्ट बनाउने गरी खानमा  हड्डीका टुक्रा मिसाएकाले होटेलमाथि कडा कारबाही हुनुपर्ने माग गर्नुभएको छ । ‘झण्डैले छोरीको विवाह भाँडिएन । जन्ती पनि खाना नखाई फर्के । होटेलले ठुलो बदमासी गरेको छ’, उहाँले भन्नुभयो, ‘होटेल सञ्चालक पछि छलफल गर्नेभन्दै फोन अफ् गरेर सम्पर्कविहीन छन् । सञ्चालमाथि कारबाहीकोलागि म जिल्ला प्रशासनमा उजुरी हाल्छु ।’

यता मुजेलिया वडा प्रहरी कार्यालयका इञ्चार्ज बडाबाबु झाले शाकाहारी भोजमा भेटिएको  हड्डीका टुक्राहरु  प्रमाणस्वरुप राखेको बताउनुभयो । ‘राति विवाद भएको बेला होटेलमा पुगेर खानामा मिसाइएको हड्डीका टुक्रा हामीले प्रमाणस्वरुप राखेका छौं’, इञ्चार्ज झाले भन्नुभयो, ‘राति होटेल सञ्चालकले बिहान ७ बजेको समय दिएका थिी । तर अर्को घटनामा जानुपर्दा त्यहाँ पुग्न सकेनौ । होटेल सञ्चालक अहिले सम्पर्क बाहिर छन् ।’

पीडित पक्षले उजुरी गरेमा माथिको निर्देशन अनुसार यो मुद्दामा अगाडि बढ्ने उहाँको भनाइ छ ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया