पाँचथर र इलाममा बाढीले बगाएर दुई जना बेपत्ता

 असार २७, २०७६ शुक्रबार २०:२३:४० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर/इलाम: मिक्लाजुङ गाउँपालिका–४ मा विद्यालय जाने क्रममा खोलाले बगाएर एक जना ९ वर्षीय बालक बेपत्ता भएका छन् ।

स्थानीय नुवाखोलाले बगाउँदा बेपत्ता हुनेमा स्थानीय लोकबहादुर राईका छोरा ९ वर्षीय दिवस राई बेपत्ता भएका हुन् । रविमा रहेकाे होलि चाइल्ड इङिलस बोर्डिङ स्कूल कक्षा–४ मा अध्ययनरत बालक शुक्रबार बिहान स्कूल जाने क्रममा पुल नभएको खोला तर्दा बेपत्ता भएका हुन् ।

अविरल वर्षासँगै बाढी आएको खोला तर्न खोज्दा बालक बगेर बेपत्ता भएको रवि प्रहरीले जनाएको छ । बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको पाँचथर प्रहरीका प्रवक्ता अनिलकुमार पौडेलले बताउनुभयो ।

त्यस्तै, पानीसँगै बढेको खहरे खोलाले इलाममा शुक्रबार एक जनालाई बगाएको छ । चुलाचुली गाउँपालिका-१ का महानन्द लावतीलाई खेतमा काम गरेर फर्कने क्रममा एक्कासि बढेर आएको खहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । बेपत्ता भएका अन्दाजी  ५० वर्षका लावतीको झापा र इलामको प्रहरी टोलीले खोजि गरिरहेको बताइएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया