अझै खुलेन मेची राजमार्ग, २७ लाख रुपैयाँ बराबरको टमाटर गाडीमै थन्कियो

 साउन ३, २०७६ शुक्रबार १८:५१:० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – गएको बुधबार राति वर्षासँगै पहिरो खसेपछि अवरुद्ध भएको मेची राजमार्गमा पहिरो जाने क्रम नरोकिँदा सडक सञ्चालनमा समस्या भएको छ ।

राजमार्ग अवरुद्ध भएपछि जिल्लामा उत्पादित २७ लाख रुपैयाँ बराबरको टमाटर खेर जाने अवस्थामा पुगेको छ ।

पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकामा उत्पादित टमाटर झापाको बिर्तामोडतर्फ लैजाने क्रममा सडक अवरुद्ध भएपछि दुई दिनदेखि गाडीमै थन्किँदा २७ लाख ८८ हजार मूल्य बराबरको टमाटर खेर जाने अवस्थामा पुगेका छन् । 

मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डको फाल्गुनन्द गाउँपालिका–३ को पाङ्ग्रेभिरमा पहिरो झरेपछि अवरुद्ध भएको राजमार्ग सञ्चालनमा ल्याउन नसक्दा सयौँ गाडीहरु रोकिएका छन् ।

२२ ओटा गाडीमा लोड गरेर लगिएको टमाटर बाटो अवरुद्ध भएपछि रोकिएको बिर्तामोडका टमाटर व्यापारी नवराज उप्रेतीले बताउनुभयो । पहिरोका कारण दुई दिनसम्म गाडीमै टमाटर थन्किँदा आधाभन्दा धेरै टमाटर कुहिसकेको उहाँले भन्नुभयो । 

बाटो अवरुद्ध भएपछि अलपत्र परेका यात्रुलाई आधा घण्टाको गोरेटो बाटो पैदल हिँडाएर वारि पारिका गाडीमार्फत गन्तव्यसम्म पठाउने काम भैरहेको छ । टमाटर भने गाडीमै थन्किएको छ, एक/दुई दिनभित्र बाटो नखुले टमाटर सबै कुहिने अवस्थामा पुगेको छ । 

पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनाहरु बीच बाटोमै रोकिएका छन् । वैकल्पिक बाटो समेत नभएकोले यात्रुहरु समस्यामा परेका छन् । 

पहिरो पन्छाउने प्रयास भैरहे पनि पहिरो जाने क्रम नरोकएपछि अवरोध हटाउन नसकिएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिमल्सिनाले बताउनुभयो । पहिरो पन्छाउन स्काभेटर मेसिन लगिएको भए पनि काम गर्न सम्भव नभएको तिमल्सिनाले जानकारी दिनुभयो । 

यो राजमार्गबाट पाँचथरको सदुरमकाम फिदिम हुँदै ताप्लेजुङ र तेह्रथुमको आठराइ क्षेत्रमा सवारी सञ्चालन हुने गर्दछ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया