भाले, अण्डा र घ्यू बोकेर सुत्केरीको घरमा गाउँपालिका अध्यक्ष

 साउन ५, २०७६ आइतबार १०:१०:२७ | रासस
unn.prixa.net

पर्वत – पर्वतको एक गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको एक साता पनि नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन सुरु गरेको छ । महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ आर्थिक वर्षको सुरुवातबाटै सुत्केरी भएका महिलाका घर–घरमा पुगेर कोशेली वितरण सुरु गरेको हो । 

गाउँपालिका अध्यक्ष राजु पौडेलले शुक्रबार पहिलोपटक महाशिला–५ लुङ्खु आहाले निवासी सुत्केरी गुडिया सुनारसँग भेटघाट गर्नुभएको हो । अध्यक्ष पौडेल, उपाध्यक्ष, हीरादेवी राना, स्वास्थ्यकर्मी र वडाध्यक्षहरुको उपस्थितिमा सुत्केरी आमालाई कुखुराको भाले, घ्यू र अन्डा वितरण साथै स्वास्थ्यकर्मीबाट सुत्केरीको स्वास्थ्य जाँच पनि गरिएको महाशिलाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो ।

आमा र बच्चाको अवस्था सामान्य रहेको थियो । स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढङ्गबाट सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोशेली कार्यक्रम’ सुरु गरिएको हो । 

महाशिला गाउँपालिकाका छ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर स्थापना गरिएका छन् । 'हरेक महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउने काम भएका कारण जिरो होम डेलिभरीको अवस्था छ', अध्यक्ष पौडेलले भन्नुभयो, “अब घरमा सुत्केरी गराउने मानसिकता नै नबसोस् भनेर प्रोत्साहनको कार्यक्रम ल्याएका हौँ ।” 

भैँसीलाई पनि सुत्केरी खर्च

यसैगरी महाशिलाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई मात्रै होइन, पाडापाडी हुर्काउने कृषकलाई समेत प्रोत्साहन गर्न भैँसीलाई सुत्केरी भत्ता दिने निर्णय गरेको छ ।

भैँसी ब्याएपछि पाडापाडी काटेर खाने चलन हटाउन पाडापाडी हुर्काउने कृषकलाई ५०० रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । स्थानीय जातका लिमे र पाराकोटे जातका भैँसीका पाडापाडी काटेर खानेलाई एक हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गएको वर्षदेखि नै कार्यान्वयनमा छ ।

महाशिला गाउँपालिकाले यसअघि एक घर एक रोजगार, रक्सी नियन्त्रण, बाँदर नियन्त्रण अभियान सञ्चालन गरेका कारण देशभर चर्चामा रहेको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया