सात दिनदेखि बन्द रहेको मेची राजमार्ग एकतर्फी खुल्यो

 साउन ८, २०७६ बुधबार १८:४९:१६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – गएको बुधबारदेखि बन्द रहेको मेची राजमार्ग एकतर्फी खुलेको छ । 

मेची राजमार्गअन्तर्गत राँके-फिदिम सडक खण्डको फाल्गुनन्द गाउँपालिका-३ को पाँग्रेभिरमा गएको पहिरो पन्छ्याएपछि वुधबारबाट राजमार्ग एकतर्फी खुलेको हो ।

वर्षासँगै पहिरो जाने क्रम नरोकिएपछि मेची राजमार्ग ७ दिनसम्म अवरुद्ध भएको थियो । पहिरोले राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट अन्यत्र छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका थिए । 

सवारी साधन बीच बाटोमै रोकिँदा यात्रुहरुलाई समस्या भएको थियो भने पाँचथरका विभिन्न ठाउँबाट झापातर्फ लैजान लागिएको २७ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको टमाटर आधाभन्दा धेरै खेर गएको थियो । 

यो राजमार्गबाट पाँचथरको सदुरमकाम फिदिम हुँदै ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रमा सवारी सञ्चालन हुने गर्दछ । अहिले पनि वर्षा नरोकिएकाले पाँग्रेभिरमा पहिरोको जोखिम रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया