तिम्बुङ पोखरीमा सांस्कृतिक अतिक्रमण, पुरानै रुपमा रहन दिनुपर्ने माग

 साउन १७, २०७६ शुक्रबार ११:३०:५१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथर र ताप्लेजुङ जिल्लाको सीमा क्षेत्रमा रहेको पूर्वको गोसाइकुण्डको नामले परिचित तिम्बुङ पोखरीमा सांस्कृतिक अतिक्रमण भएको भन्दै आदिवासी संघ संस्थाहरुले आपत्ति जनाएका छन् । 

पोखरी परिसरभित्रै मन्दिर निर्माण गरेर पोखरीको नाम नै अर्कै नामाकरण गर्न खोजिएको भन्दै १८ वटा आदिवासी संघ संस्थाहरुले आपत्ति जनाएका हुन् । पोखरीलाई प्राकृतिक र जैविक रुपमा रहन दिनुपर्ने भए पनि मन्दिर निर्माणका क्रममा कंक्रिट प्रयोग गरिनाले यहाँको जैविक विविधतामा असर पुग्ने समेत दाबि गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा लगायतका आदिवासी संघ संस्थाहरुले सांस्कृतिक अतिक्रमण रोक्न तथा पोखरी परिसरमा निर्माण गरिएको मन्दिर हटाउन समेत माग गरेका छन् ।

यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि रैथाने परम्परा, ज्ञान र संस्कृतिको प्रयोग गर्दै पर्यावरणमा सन्तुलन कायम राखेर पूर्वाधार निर्माण निर्माणका कार्य अघि बढाउनुपर्ने समेत उल्लेख गरिएको छ ।

पर्यटन मन्त्रालयको ५० लाख र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अघिल्लो आर्थिक वर्षको ५ लाख गरी कुल ५५ लाख रुपैयाँको लगानीमा यस क्षेत्रमा मन्दिर तथा सिँढीमार्ग निर्माण गरिएको सिदिङ्वा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकप्रसाद फागोले बताउनुभयो । बर्खायाममा मात्र पुग्न सकिने यो क्षेत्र पूर्वको प्रमुख पर्यटकीय स्थलको रुपमा हेरिन्छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया