प्रदेश २ का राज्यमन्त्रीले बुझेकाे भ्रमण भत्ता मुख्यमन्त्रीकाे भन्दा बढी, कसले कति लिए ?

 साउन १८, २०७६ शनिबार १६:२०:० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा -कामकाजमा सुस्त रहेकाे प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीहरुले आर्थिक वर्ष २०७५/०७६ मा दैनिक भ्रमण भत्ताबापत लाखौँ रकम बुझेका छन् ।

सूचनाको हक प्रयोग गरेर सूचना मागेपछि मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले उपलब्ध गराएको सूचनामा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले गएको आर्थिक वर्षमा मात्रै २२ लाख ९७ हजार २० रुपैयाँ लिएकाे पाइएकाे हाे ।  

कार्यालयका अधिकृत रुपेश साहले पत्रकारलाई उपलब्ध गराएको सूचनामा मुख्यमन्त्री लालबाबु राउतले एक वर्षमा दैनिक भ्रमण भत्ताबापत ३ लाख ८ हजार ७ सय ४० रुपैयाँ बुझ्नुभएको छ । तर कामको जिम्मेबारी नपाएको भन्दै गुनासो गरिरहने एक राज्यमन्त्रीले भने उहाँकोभन्दा बढी भत्ता बुझेकाे भेटिएकाे छ ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले ३ लाख १९ हजार २ सय ८३ रुपैयाँ दैनिक भ्रमण भत्ता बुझ्नुभएको हो । मुख्यमन्त्रीभन्दा राज्यमन्त्री यादवले ११ हजार ४ सय ४३ रुपैयाँ बढी दैनिक भ्रमणभत्ता लिएको तथ्यांकमा उल्लेख छ ।

यस्तै सबैभन्दा कम दैनिक भ्रमण भत्ता लिनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय हुनुहुन्छ ।  

दैनिक भ्रमण भत्ताबापत प्रति दिन मुख्यमन्त्रीले तीन हजार, मन्त्री र राज्यमन्त्रीले दुई हजार पाउने मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवासुविधा सम्बन्धी व्यवस्थामा उल्लेख छ ।

यस्तो छ अन्य मन्त्री र राज्यमन्त्रीहरुले लिएको दैनिक भ्रमण भत्ता

यस बाहेक अन्य सुविधा
मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवासुविधासम्बन्धी विधेयकमा दैनिक भ्रमण भत्ता बाहेक मुख्य मन्त्रीले मासिक ६० हजार ९ सय ७० रुपैयाँ तलब बुझ्ने गरेका छन् । यस्तै अन्य मन्त्रीहरुले ५७ हजार ७ सय ८० रुपैयाँ र राज्यमन्त्रीको ५६ हजार ४ सय ९० रुपैयाँ मासिक तलब छ । 

यसकासाथै मुख्य मन्त्रीले आवास सुविधा पनि पाउँछन् । मन्त्रीहरुले अवास सुविधा वा त्यस बापत प्रतिमहिना १५ हजार रुपैयाँ भाडा र सवारी सुविधा उपलब्ध गराइन्छ । 

यस्तै सवारी सुविधा भन्दै मुख्यमन्त्रीलाई प्रतिमहिना तीन सय लिटर इन्धन प्राप्त हुन्छ भने मन्त्री र राज्यमन्त्रीले २ सय २५ लिटर इन्धन प्राप्त गर्छन् ।मुख्यमन्त्री तथा मन्त्रीहरुले मासिक तोकिएको हिसाबले इन्धन लिइरहेका छन् ।   

त्यस्तै, गाडीमा प्रयोग हुने इञ्जिन आयल पनि मुख्यमन्त्री र मन्त्रीहरुका लागि छुट्याइएको छ । प्रत्येक तीन महिनामा मुख्यमन्त्रीले दश लिटर र अन्य मन्त्रीले ५ लिटर इञ्जिन आयल लिइरहेका छन् ।  

उनीहरूले विशेष भत्ता एक हजार, सञ्चार तथा पत्रपत्रिकाको लागि प्रतिमहिना तीन हजार, फर्निचर सुविधाबापत एकमुष्ठ ५० हजार रुपैयाँ र बिजुली, पानी बापत प्रतिमहिना दुई हजार रुपैयाँ लिने गरेका छन् ।  
 

अन्तिम अपडेट: चैत ११, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया