तारजाली र त्रिपाल हिनामिना भएको भन्दै जिल्ला समन्वय समिति ओखलढुंगाविरुद्ध उजुरी

 साउन १८, २०७६ शनिबार २०:३०:१७ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी ओखलढुंगाले जिल्ला समन्वय समिति ओखलढुंगाविरुद्ध करोडौँको तारजाली र त्रिपाल हिनामिना भएको भन्दै उजुरी गरेको छ । 

समितिका विभिन्न स्थानमा रहेका भण्डारण कक्षबाट समितिले विपद्का लागि राखिएका सामग्री आफूखुसी हिनामिना गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको हो । 

नेकपाका अध्यक्ष तथा प्रदेश सभाका अर्थ समितिका सभापति मोहनकुमार खड्काले उजुरी गर्नुभएको हाे । नेकपाको सचिवालय बैठकपछि जिल्ला अध्यक्षको हैसियतले उहाँले शुक्रबार उजुरी दर्ता गराउनु भएको हो ।

यसअघि पनि समन्वय समितिका पदाधिकारीहरुको मिलेमतोमा करोडौँको तारजाली हिनामिना भएको भन्दै सार्वजनिक कार्यक्रममा छानबिनको माग हुँदै आएको थियो । 

करोडौँ पर्ने जनताको सम्पति व्यक्तिगत हिसाबले दुरुपयोग भएको र विपदका बेला दिन राखिएका त्रिपाल समेत हराएपछि उजुरी गर्नु परेको सभापति खड्को भनाइ छ ।

भूकम्पपछि सगरमाथा जनता माध्यमिक विद्यालयको कक्षा कोठामा मौज्दात रहेको झण्डै आठ हजार थान त्रिपाल र समन्वयको कार्यालय परिसर र रुम्जाटारमा रहेको ठूलो परिमाणको तारजाली मनोमानी ढंगले बाँडेको नेकपाको उजुरीमा उल्लेख छ । 

तत्कालीन राजनीतिक दलहरुको सहभागितामा सगरमाथा जनता माध्यमिक विद्यालयको एउटा कक्षा कोठामा आठ हजार थानभन्दा बढी त्रिपाल र कम्बल राखिएकोमा थाहा नपाइ भण्डार रित्तिएको नेकपा सचिवालय सदस्य भट्टराईले बताउनुभयो ।

यस्तै स्थानीय सडक सहयोग कार्यक्रम (एलआरआईपी) का लागि स्विस सरकार विकास नियोग (एसडीसी) ले अनुदानमा उपलब्ध गराएको ४० क्विन्टलभन्दा बढी तारजाली अभिलेख बिना नै मनोमानी ढंगले वितरण भएपछि नेकपाले चासो देखाएको हो ।  

जिल्ला समन्वय समितिको कार्यालय परिसरमा भण्डारण गरिएको हजारौँ थान जाली र ४० टन भन्दा बढी जाली बुन्न बाँकी तार अपारदर्शी ढंगले समितिले बाँडेको सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले आरोप लगाउनुभयो । स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने सामग्री सभापतिले आफूखुसी वितरण गरेको उहाँको भनाइ छ । 

समितिले गएको वर्षको हिउँभरि तारजाली, त्रिपाल र कम्बल समितिका पदाधिकारीका नजिकका व्यक्तिलाई वितरण गरेको बताएको छ । विपद्का सामग्री समेत भण्डारणका लागि समस्या भएको र नष्ट हुने भन्दै वितरण भएपछि राजनीतिक दलहरुले विरोध गर्दै आएका थिए । 

अन्तिम अपडेट: फागुन २८, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया