इवा खोलाबाट उत्पादित ९ दशमलव ९ मेगावाट विद्युत् केन्द्रीय लाइनमा जोड्ने तयारी

 साउन २४, २०७६ शुक्रबार १९:२७:१२ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर–याङवरक गाउँपालिकाको इवा खोलाबाट उत्पादित ९ दशमलव ९ मेगावाट क्षमताको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न तयारी थालिएको छ । 

जल विद्युत् आयोजनाको काम सम्पन्न भएसँगै इवा खोलाबाट उत्पादन हुने विद्युत् काबेली कोरिडोर मार्फत केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भैरहेको हो ।

अब केही दिनमै परीक्षण प्रसारण गरिने र त्यसपछि केन्द्रीय लाइनमा जोडिने आयोजना प्रमुख कुवेरमणि नेपालले बताउनुभयो । यसअघि आन्तरिक परीक्षण सकिएको उहाँले जानकारी दिनुभयो । 

इवा खोलाबाट उत्पादित विद्युत् ३३ केभीए प्रसारण लाइनबाट काबेली बी–१ आयोजना नजिकै निर्माण गरिएको पुलिङ हाउस भएको ठाँउबाट १ सय ३२ केभीएमा रुपान्तरण गरिने बताइएको छ ।

दुई ओटा जलविद्युत् आयोजनाको विद्युत् एकै ठाँउ बनाएर केन्द्रीय लाइनमा जोड्न लागिएको यो पहिलो अभ्यास रहेको प्रमुख नेपालले बताउनुभयो । पुलिङ हाउस भएको ठाँउबाट विद्युत् प्राधिकरणको अमरपुर सव–स्टेसनसम्मको प्रसारण लाइनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।

१ अर्ब ८५ करोड रुपैयाँको लागतमा २०७३ मंसिरदेखि सुरु भएको आयोजना सम्झौता अनुसार २०७५ जेठसम्म सम्पन्न गर्नुपर्ने थियो तर आयोजनाको काम एक वर्ष ढिलो सकिएको हो । 

लेकाली क्षेत्रबाट बग्ने खोला भएकाले सुक्खायाममा पनि पानी नघट्ने हुनाले यो आयोजनाबाट बाह्रै महिना एकनासले विद्युत् उत्पादन हुने आयोजना प्रमुख नेपालले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया