प्रदेश २ सरकारको विषयमा प्रचण्डको अभिव्यक्ति फेरियो

प्रदेश २ मात्र होइन, देशैभर सुशासन र भ्रष्टाचार ठूलो चुनौती बन्दै गएको दाबी

 भदौ ३, २०७६ मंगलबार ११:१३:३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रेदश २ सरकारको विषयमा दिनुभएको अभिब्यक्ति फेर्नुभएको छ ।

सोमबार शहीद रामवृक्ष यादवको स्मृति सभालाई धनुषाको बरमझियामा सम्बोधन गर्दै उहाँले प्रदेश २ मा झनै भ्रष्टाचार बढेको बताउनुभएको थियो ।

मंगलबार बिहान विपद व्यवस्थापन समिति धनुषाले आयोजना गरेको कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रचण्डको अभिव्यक्तिको खण्डन गर्दै सबैभन्दा बढी काठमाण्डौ र सिंगो देशमा नै भ्रष्टाचार बढीरहेको बताउनुभयो ।

 

त्यही कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका प्रचण्डले आफूले मात्र २ नम्बर प्रदेशमा भ्रष्टाचार बढेको नभनेर देशैभर सुशासन र भ्रष्टाचार एउटा ठूलो चुनौती भएको कुरा समान्य रुपमा राखेको दाबी गर्नुभयो । अब सरकार र हामी सबै आ–आफ्नो स्थानबाट भ्रष्टाचार, सुशासनको निम्ति अझ प्रभावकारी तरिकाबाट अघि बढ्नुपर्ने प्रचण्डको धारणा छ ।

भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीसँग कुरा गरेको बताउँदै प्रचण्डले यसको निम्ति प्रदेश नम्बर २ सरकार, सम्पूर्ण राजनीतिक दलसंग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

अर्को प्रसंगमा प्रचण्डले बर्सेनि बाढी पहिरोबाट हुने जनधनको क्षतिलाई मध्यनजर गर्दै  दीर्घकालीन समस्या समाधानको निम्ति रणनीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सीमा क्षेत्रमा हुने डुबानको लागि भारतसरकारसँग सहकार्य गरेर बाँधका समस्याहरुलाई पनि निराकरण गर्नुपर्ने उहाँको धारणा छ ।

प्रदेश २ को किास र समृद्धिविना देश समृद्धिको कल्पना गर्न नसकिने बताउँदै प्रचण्डले चाँडै प्रदेश २ को लागि छुट्टै प्याकेज बनाएर आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

अन्तिम अपडेट: चैत १२, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया