पाथीभरा गोल्डकपको उपाधि एलाभेन एरोज सुनसरीलाई

 भदौ ६, २०७६ शुक्रबार १९:५:१३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – चौथो संस्करणको पाथीभरा गोल्डकपको उपाधि एलाभेन एरोज क्लब सुनसरीले जितेको छ ।

डिफेण्डिङ च्याम्पियन झापाको रेडस्टार क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो ।जितसँगै एलाभेन एरोजले नगद ३ लाख ११ हजार १११ रुपैैयाँका साथ २ सय ४० तोला चाँदी र ३ तोला सुन लेपन भएको ट्रफी हात पारेको छ ।

उपविजेता रेडस्टार झापाले ट्रफीसहित नगद १ लाख ५१ हजार १११ रुपैयाँ प्राप्त गर्‍यो ।

विजेता तथा उपविजेता टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले पुरस्कार तथा प्रमाण–पत्र वितरण गर्नुभयो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेका एलाभेन एरोज र रेडस्टारबीचको प्रतिस्पर्धामा रेडस्टारले सुरुवाति अग्रता लिएको थियो । खेलको ६१ औँ मिनेटमा योगेश गुरुङले गोल गर्दै आफ्नो टिमलाई १–० को स्थितिमा पुर्याएका थिए । खेलको ७५ औं मिनेटमा एलाभेन एरोज सुनसरीका यानिक ओनाले गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।

खेल अवधिभर ४ गोल गरेका उनी सर्वाधिक गोलकर्ताको उपाधिसमेत जित्न सफल भए । खेलको ८७औं मिनेटमा रेडस्टारका लागि मिलन राईले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

उनको गोलसँगै खेल तनावपूर्ण बन्यो । एलाभेन एरोजका यानिक र एक्वेमसहितका खेलाडीले यसलाई गोलमा मान्यता नदिन रेफ्री श्याम दनुवारसँग अपिल गरे । तर दनुवार आफ्नो निर्णयबाट पछि हटेनन् । हारको नजिक पुगेको एलाभेन एरोजका लागि इञ्जुरी समयको ४ मिनेटमा समन राईले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याउँदा दर्शकको हुटिङले सुनसरीको मन जित्यो ।

निर्धारित ९० मिनेटमा दुवै टिमले २–२ को बराबरी खेलेपछि खेल टाइब्रेकरबाट टुङ्गिएको थियो ।  टाइब्रेकरमा सुनसरीले झापालाई ४–२ ले हरायो । 

रेडस्टारका खेलाडी योगेश गुरुङ र विकास थुलुङको प्रहार गोलमा परिणत हुन  सकेन । पुजन उपरकोटी र निसान लिम्बूको प्रहार गोलमा परिणत भएको थियो । एलाभेन एरोजका रुपेश केसी, जीवन धामी, बिष्णु सुनुवार र उमेश कार्कीको प्रहार गोलमा परिणत भएसँगै उसले उपाधि चुमेको हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया