जनकपुरमा नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेकाे घटनाकाे छानबिन गर्न समिति गठन

 भदौ १३, २०७६ शुक्रबार १८:२४:३२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुर मन्दिरको जानकी चोकमा युवाहरुलाई प्रहरीले कुटपिट गरेको घटना छानबिन गर्न समिति गठन भएको छ ।

बिहीबार फुटपाथमा नरिवल बेच्ने युवक रोशन चौधरी र भिडियो खिच्ने युवा अभियन्ता सुशील कर्णलाई प्रहरीले कुटपिट गरेको घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार समिति गठन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा एक जना प्रहरी निरीक्षक, एक जना प्रहरी नायब निरीक्षक, एक जना हवलदार र एक जना जवान रहेका छन् । 

त्यस्तै व्यापारीहरुक‍ो एक समूहले जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर दोषी प्रहरीमाथि अविलम्ब कारबाही नभए बजार बन्द गर्ने चेतावनी दिएको छ । 

फुटपाथमा नरिवल बेच्ने युवक रोशन चौधरीलाई जानकी मन्दिर परिसरका प्रहरी जवान प्रेमशंकर यादवले बिहीबार दिउँसो कुटपिट गरेका थिए । युवकले आफूले पैसा नदिँदा कुटपिट गरेको र पैसा दिएका पसलेहरुलाई प्रहरीले केही नगरेको बताएपछि त्यसको भिडियो खिचेर स्थानीय युवा अभियन्ता सुशील कर्णले सार्वजनिक गर्नु भएको थियो ।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले जानकी प्रहरी चौकीमा युवक रोशनलाई लगेको थियो । त्यसपछि युवा अभियन्ता युवकलाई छुटाउन पुग्दा पर्यटक प्रहरीका इन्चार्ज वीरेन्द्र यादव र युवक कुट्ने प्रहरी प्रेमशंकर यादवले भिडियो किन खिचेको भन्दै कर्णलाई लछारपछार गर्दै कुटपिट र दुर्व्यवहार गरेका थिए । 

घटनालाई लिएर त्यसको विरोधमा स्थानीय युवाहरुले प्रदर्शनीसमेत गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया