चाडपर्व नजिकिएसँगै पाँचथरमा रातोमाटोको बिक्री बढ्यो

 असोज ८, २०७६ बुधबार १८:२५:४९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - दशैँ तिहार नजिकिएसँगै पाँचथरको फिदिममा रातो माटोको कारोबार बढेको छ ।

स्थानीय चारखम्बेको रातोमाटो दशैँ तिहारको समयमा बर्सेनि बिक्री हुने गर्दछ । घर पोत्न र सिंगार्न प्रयोग गरिने रातोमाटो प्रतिबोरा ६५ देखि ८० रुपैँयामा बिक्री भइरहेको छ । यहाँको रातोमाटो पाँचथर जिल्लासँगै  तेह्रथुम, ताप्लेजुङ, इलाम र झापासम्म पनि बिक्री हुने गर्दछ ।

चारखम्बेकी मिरा गुरुङ रातोमाटो बेचेरै दशैँ, तिहार खर्च पुग्ने बताउनुहुन्छ । अघिल्लो वर्ष रातोमाटो बेचेर २ लाख रुपैँया आम्दानी गरेको गुरुङको भनाइ छ । उहाँले चारखम्बेमा रहेको आफ्नै जग्गाबाट रातोमाटो निकालेर बिक्री गरिरहनुभएको छ । यस क्षेत्रमा आफ्नै जग्गा नहुनेहरुले पनि जग्गाधनीलाई प्रतिबोरा १५ रुपैँया दिएर रातोमाटो निकालेर बिक्री गरिरहेका छन् ।

ताप्लेजुङ घर भएर फिदिममा डेरा गरेर बसेका सोमप्रकाश लिम्बूले जग्गाधनीलाई प्रतिबोरा १५ रुपैँया दिने शर्तमा रातोमाटो निकालेर बेचिरहनु भएको छ । प्रत्येक दिन एक सय बोरासम्म रातोमाटो बिक्री हुँदै आएको लिम्बूले बताउनुभयो । यहाँको माटो ट्रयाक्टरमा हालेर गाउँगाउँमा लगेर बिक्री गर्ने गरिन्छ ।

रातोमाटोको माग बर्सेनि बढ्दो

यस क्षेत्रमा पाइने रातोमाटोको माग बर्सेनि बढ्दै गएको स्थानीय बताउँछन् । अघिल्लो वर्षसम्म चाडपर्वका मुखमा आइपुग्दा मात्र बिक्री हुने रातोमाटो यस वर्ष भने एक महिना अघिदेखि बिक्री हुन थालेको छ ।

जिल्लाका विभिन्न ठाँउबाट एक महिनाअघि देखिनै माटो किन्नेहरु आउन थालेको चारखम्बेका स्थानीयले बताएका छन् । अरु ठाँउमा पाइने रातोमाटोभन्दा यहाँ पाइने माटो चम्किलो हुने भएकाले यहाँको रातोमाटोको धेरैको रोजाइमा पर्ने गरेकाे छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया