हराउँदै लिङ्गे पिङ : युवाहरु विदेशिँदा पिङ राख्ने काेही भएनन्

 असोज २०, २०७६ सोमबार ८:२६:३१ | उपेन्द्र येक्तेन
unn.prixa.net

असोज – दशैँ र तिहारमा मनोरञ्जन लिने एउटा माध्यम हो, लिङ्गे पिङ । लिङ्गे पिङ विशेष गरेर दशैँको घटस्थापनामा राखिन्छ र तिहारसम्म रहन्छ । 

दुई/चार वर्ष अघिसम्म पनि दशैँ र तिहारमा शहरको खुला ठाँउदेखि लिएर गाउँका टोल टोलका पैदल मार्ग, धारा–कुवा, पाटी–पौवा, चौतारा, मठमन्दिर जस्ता सार्वजनिक ठाउँमा राखिएका लिङ्गे पिङमा रमाउनेको घुइँचो देखिन्थ्यो ।

केटाकेटी मात्र नभइ बूढापाकाहरु पनि ‘वर्षमा एक पटक धर्ती छोड्नुपर्छ’ भन्दै पिङमा मच्चिने गर्दथे । टोलटोलमा पिङ राख्नेहरुबीच प्रतिस्पर्धा नै हुन्थ्यो । दशैँ आउनुअघि टोलटोलका युवाहरु सल्लाह गरेर पिङ राख्ने चलन थियो । तर पछिल्लो समय पिङ राख्ने चलन हराउँदै जाँदा लिङ्गे पिङ लोप हुँदै गएको छ ।

तर पछिल्लो समयको दशैँमा शहर र बस्तीका एकाध ठाउँमा मत्र लिङ्गे पिङ राखिएको देख्न सक्निछ । बारीमा कोदो फुल्न र खेतमा धानका बाला झुल्न थालेसँगै टोलटोलमा राखिएको लिङ्गे पिङमा बेस्सरी मच्चिएर रमाइलो गरी दशैँ मनाउने चलन लोप हुँदै गएको छ । 

टोलटोलका युवाहरुको सक्रियतामा राखिने लिङ्गे पिङ पछिल्लो समय लोप हुनुको पछाडि युवाहरुको विदेश पलायन प्रमुख कारण रहेको सरोकारवालाहरु बताउँछन् ।

‘गाउँका धेरै युवाहरु विदेश पलायन भएका छन्, बूढापाका र केटाकेटीले पिङ राख्न सक्दैनन् । त्यसले पनि दशैँमा रमाइलो गर्ने माध्यम पिङ लोप हुँदै गएको छ’, पाँचथर फालेलुङ गाउँपालिकाका नरेन्द्रराज केरुङले भन्नुभयो । दुई-चार वर्ष अघिसम्म गाउँका टोलैपिच्छे पिङ राख्ने चलन थियो तर अहिले एक ठाँउमा पनि पिङ नराखिएको उहाँले गुनासो गर्नुभयो । 

यही अवस्था रहने हो भने अबको दुई/चार वर्षमा लिङ्गे पुरै हराउने अवस्थामा पुग्छ । युवा वर्गकाे विदेश पलायन र नयाँ पुस्ताले संरक्षणमा जोड नदिँदा पनि पुराना चालचलनहरु लोप हुँदै गएको फिदिम नगरपालिका–१० का वडा सदस्य विमला लिम्बूले बताउनुभयो । यस्ता मौलिक संस्कृतिसँग जोडिएका सम्पत्तिको संरक्षणमा युवा वर्गले चासो दिनुपर्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया