बैंकको रकम हिनामिनामा ५६ जना विरुद्ध मुद्दा दायर

 कात्तिक ४, २०७६ सोमबार ८:२०:३६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायपुर शाखाबाट भएको १८ करोड रुपैयाँ हिनामिनामा ५६ जनाविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार उच्च अदालत तुलसीपुरमा बैंकका सञ्चालक खड्कबहादुर बुढाथोकीसहित, कर्मचारी र खातावाल गरी ५६ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङले २ महिना अनुसन्धान गरेर प्राप्त प्रमाणलाई शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएपछि कसुरदारविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता भएको हो ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालयले ६ जना बैंक सञ्चालक, एक जना अडिटर, सिईओसहित ६ जना बैँकका कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना गरेर ५६ जनामाथि तुलसिपुरमा रहेको उच्च अदालत तुलसिपुरको वाणिज्य इजलाशमा मुद्दा दर्ता गरेको हो । 

मुद्दा दर्ता गर्नेक्रममा बैँक सञ्चालकहरु  र सिईओ फरार रहेको उल्लेख गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय दाङको कार्यालय प्रमुख सुशिल देवकोटाले तत्कालीन वेष्टर्न बैंक नारायणपुर अहिले देवः विकास बैँकका म्यानेजर समिर बुढाथोकीलाई मुख्य योजनाकार र अन्य बैंक सञ्चालक, ऋण बोर्डका सदस्य, अडिटर, बैंकका सिईओसहितका कर्मचारीहरु र खाताको रकम दुरुपयोग गर्नेलाई सहयोगीका रुपमा मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो ।

सरकारी वकिल कार्यालयले बैंक हिनामिना प्रकरणमा तत्कालीन वेष्टर्न बैंकका सञ्चालकहरु खड्गबहादुर बुढाथोकीसहित ओमभक्त बुढाथोकी, अर्जुन बुढाथोकी, वेगमबहादुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटामाथि बैंकिङ कसुर मुद्दा चलाएको हो । त्यस्तै, रकम हिनामिना प्रकरणमा तत्कालीन वेष्टर्न बैँकका सिईओ खिमबहादुर डिसि, बैंकका कर्जा विभाग प्रमुख अनिलकुमार न्यौपाने, बुटवलका अडिटर प्रेम भुर्तेल, लोन सहायक पोषणराज जैसी, सहायक सिर्जना थापा र खाताको रकम दुरुपयोग गरेकोमा ४३ जनामाथि मुद्दा दर्ता गरिएको हो । 

सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दामा १८ करोड ३ लाख ७२ हजारको दोब्बर बिगो (३६ करोड बढी) जरिवाना र कैद सजायको माग गरीएको छ । कार्यालय प्रमुख देवकोटाका अनुसार तत्कालीन ब्राञ्च म्यानेजर समिर बुढाथोकीले ३६ जनाको नक्कली कागजात बनाएर बैंकको रकम हिनामिना गरेको अनुसन्धानका क्रममा देखिएको बताउनुभयो ।

अनुसन्धानका क्रममा एकै दिन बैंकको हिसाब किताब अडिट गरिएको पनि खुल्न आएको उहाँले बताउनुभयो । ब्राञ्च म्यानेजरले २ लाखभन्दा बढी कर्जा नै प्रवाह गर्न नपाउने नियम रहेकोमा यति ठूलो रकम बाहिरिएपछि रहस्य खुलेको थियो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा तत्कालीन वेष्टर्न बैंक तथा अहिलेको देवः विकास बैंकबाट १८ करोड ३ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको उजुरीपछि प्रहरीले बैंकका म्यानेजर पक्राउ परेका थिए । 

घोराही १० नारायणपुर निवासी बैंकका म्यानेजर समिर बुढाथोकीको बयानका आधारमा प्रहरीले यो अवधिमा थप १४ जनालाई पक्राउ गरेको थियो । बैंकका शाखा प्रमुख समिर बुढाथोकीसहित तीन जना कर्मचारी र आठ जना खातावाल प्रहरी हिरासतमा छन् । अन्य तीन जना भने यसअघि नै तारेखमा छुटेका थिए । वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा मात्रै देवः विकास बैंकसँग गाभिएको थियो ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया